सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ ।

भरतपुर महानगरपालिका-१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ ।

शवको डीएनए नमुना सुरक्षित राखेर जङ्गलमा व्यवस्थापन गरिएको र सनाखत भएका शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएकाे छ ।

डीएनए परीक्षणबाट बेपत्ता व्यक्तिका परिवारसँग नमुना मिलेमा व्यवस्थापन गरिएको स्थानबाट शव पहिचान गरी परिवारलाई बुझाउन सकिने गरी सङ्केत चिह्नसमेत राखिएको प्रहरीकाे भनाइ छ ।

हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, ७ बालक, ६ बालिका र ८७ वटा अन्य अर्थात् अवशेष रहेका छन् ।

नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ ।

Share News