फुर्केखोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन

सडक विभागका महानिर्देशक डा. विजय जैसी ।

काठमाडौं । रसुवा बाढीका कारण क्षतिग्रस्त काठमाडौं–धादिङबेँसी जोड्ने फुर्केखोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।

बाढीले धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुल बगाउनुका साथै पुलको एउटा पियरसमेत क्षतिग्रस्त बनाएपछि सडक विभागले तत्काल बेलीब्रिज राखेर यातायात सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरेको हो ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले स्थलगत निरीक्षणपछि पुलको लम्बाइ र पियरको अवस्थाका कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने देखिएको बताए ।

उनका अनुसार फुर्केखोलामा लामो स्पानको बेलीब्रिज तत्काल उपलब्ध हुने अवस्था देखिएको छैन । 

छोटो स्पानका बेलीब्रिजलाई दुईतर्फका पियरसँग जोड्दा पनि आवश्यक लम्बाइभन्दा कम हुने भएकाले तत्काल बेलीब्रिज राख्न समस्या देखिएको हो ।

‘यो हाम्रो ठूलो र महत्वपूर्ण लाइफलाइन ब्रिज थियो। अस्तिको ठूलो र विनाशकारी वर्षा, बाढी तथा पहिरोले यो पुल बगाएर लग्यो,’ महानिर्देशक जैसीले भने, ‘पुलको लम्बाइ र पियरको अवस्थालाई हेर्दा तत्काल बेलीब्रिज राख्न केही कठिन हुने देखिएको छ ।’

यद्यपि पुलको विस्तृत अवस्था र पुनः सञ्चालनको सम्भावना यकिन गर्न सडक विभागले प्राविधिक टोली खटाउने भएको छ । 

प्राविधिक अध्ययनपछि मात्रै पुललाई कुन विधिबाट र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्ने विभागले जनाएको छ ।

विभागले तत्कालका लागि मुख्यतः दुई विकल्पमा अध्ययन गर्ने भएको छ । पहिलो, हाल बाँकी रहेका संरचनालाई प्रयोग गरी त्यसमाथि नयाँ डेक निर्माण गर्ने र दोस्रो, क्षतिग्रस्त पुलसँग जोडेर नयाँ पुल निर्माण गर्ने विकल्पमा अध्ययन गरिनेछ ।

महानिर्देशक जैसीले उपलब्ध संरचना प्रयोग गरेर नयाँ डेक राख्न सम्भव भए त्यसलाई स्थायी प्रकृतिको संरचनाका रूपमा विकास गर्न सकिने बताए । 

त्यसो गर्न सम्भव नभए नयाँ पुल निर्माण गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

‘यो पुल बनाउनैपर्छ। आवश्यक प्राविधिक अध्ययन गरेर तुरुन्तै निर्माण प्रक्रियामा जाने विषयमा हामी चाँडै निर्णय गर्छौं,’ उनले भने ।

यसैबीच पुल बगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । 

मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलादेखि मासटारसम्मको सडकलाई तत्कालका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ ।

विभागले उक्त वैकल्पिक सडकलाई तत्काल ग्राभेल गरी यातायात आवागमन सहज बनाउने तयारी गरेको छ ।

Share News