त्रिशूली–३ ‘बी’ मा उद्धार तीव्र, सेनासहित प्राविधिक टोली घटनास्थलमा

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालन भएको छ ।

आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजीसम्बन्धी काम सुरु गरेको हो ।

घटनास्थल पुगेको टोलीले आयोजनाको भौगोलिक र प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी सम्भावित जोखिमको आकलन गर्दै उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको जनाइएको छ । 

उद्धारमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको छ ।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बने पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको आयोजनाले जनाएको छ ।

टोलीले स्थलको अवस्थाअनुसार उद्धार कार्यको रणनीति तय गर्दै जोखिम न्यूनीकरणमा समेत विशेष ध्यान दिएको छ ।

Share News