काठमाडौं । रसुवा गएका नुवाकोट विदुर नगरपालिका–२ निवासी देवचन्द्र रिजाल सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार रिजालसँग भदौ ९ गते राति करिब ८ देखि ९ बजेसम्म सम्पर्क भएको थियो। भदौ १० गतेदेखि उनीसँग कुनै पनि सम्पर्क हुन नसकेको परिवारले जनाएका छन्।
परिवारका अनुसार बुधबार दिउँसो करिब १ बजेपछि उनको मोबाइल फोन बन्द भएको थियो। त्यसयता उनको अवस्था तथा उनी कहाँ छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
बुधबार रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध भइरहेका बेला रिजालसँग पनि सम्पर्क विच्छेद भएको परिवारजनले बताएका छन्।
उनलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी हुने व्यक्तिलाई परिवारजन तथा सम्बन्धित निकायलाई जानकारी गराइदिन परिवारले आग्रह गरेका छन्।