बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड प्रभावित भएका छन् ।

बागमती प्रदेशका मुख्य राजमार्गमा बाढी र पहिरोका कारण यातायात प्रभावित भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड र नुवाकोटका मुख्य राजमार्गसमेत बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन् ।

विपी राजमार्ग (काभ्रे) र कान्ति लोकपथ (मकवानपुर) मा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न निषेध गरिएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थान ज्वाङखोला, गल्छी र बैरेनीलगायत क्षेत्रमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।

लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण यातायात ठप्प भएको छ। त्यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट-डोल्पा सडकखण्ड रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशमार्ग नागढुङ्गा-मुग्लिन सडक भने हाल पूर्ण रूपमा सञ्चालनमा रहेको छ। यद्यपि, धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

वर्षाको समयमा यात्रा गर्दा थप जोखिम हुन सक्ने भएकाले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

nullnull

Share News