काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न थालिएको छ । बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी धुन्चेमा रहेका यात्रुलाई काठमाडौं उपत्यका ल्याउने व्यवस्था मिलाएको हो ।
मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका सर्वसाधारणका लागि त्यहीँ खाना खुवाउने व्यवस्था गरिएको छ । खाना खुवाएपछि उनीहरूलाई सवारीसाधनमार्फत महावीरसम्म पुर्याउने र त्यहाँबाट करिब एक घण्टा पैदल हिँडाएर चौगटी पुर्याइनेछ । चौगटीबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने व्यवस्था गरिएको उनले बताए ।
‘धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने काम गरेका छौँ,’ मुख्यमन्त्री थापाले भने ।
उद्धारको पर्खाइमा रहेका यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरी काठमाडौं ल्याउने प्रबन्ध मिलाएको पनि उनले बताए । धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि प्रदेश सरकारले खानाको व्यवस्था गरेको छ। त्यस्तै, बागमती प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्गको मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ ।
उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक मार्गका रूपमा सोही सडक प्रयोग गरी काठमाडौँ आउन सक्ने जनाइएको छ ।