इन्दु घिमिरे सचिवमा बढुवा, पहिलो पदस्थापनमै रक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा सिफारिस समितिको पहिलो नम्बरमा रहेकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार घिमिरेले सचिवमा बढुवा भएलगत्तै संघीय सरकारको महत्वपूर्ण मन्त्रालयमध्ये एक रक्षा मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने भएकी छन् । उनी यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन् ।

सरकारले रक्षा मन्त्रालयका वर्तमान सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णयसमेत गरेको छ । शर्माको सरुवापछि रक्षा मन्त्रालयमा रिक्त हुने सचिव पदमा नवनियुक्त सचिव घिमिरेलाई जिम्मेवारी दिइएको हो ।

गृह मन्त्रालयमा भने अनिवार्य अवकाशको समय नजिकिएका राजकुमार श्रेष्ठको स्थानमा शर्मालाई ल्याइएको हो । श्रेष्ठको अवकाश हुन केही दिन मात्रै बाँकी रहेकाले सरकारले गृह प्रशासनको नेतृत्वमा नयाँ सचिव पठाउने निर्णय गरेको हो ।

घिमिरेको पहिलो पदस्थापन नै संघीय सरकारको केन्द्रीय मन्त्रालयमा भएको छ । प्रशासनिक वृत्तमा सचिवमा बढुवा भएका अधिकारीलाई प्रारम्भिक चरणमा प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने र प्रदेशमा निश्चित अवधि काम गरेपछि संघीय मन्त्रालयमा ल्याउने अभ्यास रहँदै आएको थियो ।

तर पछिल्ला वर्षहरूमा सचिव व्यवस्थापनमा उक्त परम्परागत अभ्यास कमजोर हुँदै गएको देखिन्छ । सचिव बढुवासँगै संघीय मन्त्रालयमै पदस्थापन गर्ने तथा अनुभवी सचिवहरूलाई प्रदेशमा पठाउने क्रमसमेत देखिएको छ ।

यसअघि पनि सचिव व्यवस्थापनका क्रममा वरिष्ठ सचिवहरूलाई प्रदेशका प्रमुख सचिवको जिम्मेवारी दिँदै दुर्गम प्रदेशसम्म पठाइएका उदाहरण छन् । पछिल्लो निर्णयले भने सचिव बढुवा र पदस्थापनमा सरकारले अपनाउँदै आएको नयाँ अभ्यासलाई थप स्पष्ट पारेको छ ।

घिमिरेलाई रक्षा मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसँगै मन्त्रालयको प्रशासनिक नेतृत्वमा परिवर्तन आएको छ भने शर्मा गृह मन्त्रालयको नेतृत्वमा जाने भएका छन् । दुवै सचिवको सरुवा तथा पदस्थापनलाई प्रशासनिक नेतृत्व व्यवस्थापनअन्तर्गतको नियमित निर्णयका रूपमा हेरिएको छ ।

Share News