काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीको सन्दर्भमा चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताएका छन् ।
शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चीन र नेपालबीचको सुमधुर सम्बन्ध नै बिग्रने गरी ‘र्युमर’ फैलाइएको बताए ।
सांसद रेग्मीले प्राकृतिक रूपमा हिमालय क्षेत्रमा हुने हिमपहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने घटनाको ठ्याक्कै समय र स्थानबारे पूर्वसूचना दिन सम्भव हुने बताए ।
उनले निरन्तर निगरानी हुने सगरमाथा हिमालमा समेत पर्यटक र पथप्रदर्शकलाई जोगाउन नसकिएको उल्लेख गर्दै निगरानी नै नभएको हिमालयमा कुन ठाउँमा के घटना हुन्छ ? भन्ने सूचना प्रदान गर्न नसकिने बताए।
रेग्मीले बाढीका सम्बन्धमा चीनसँग पूर्वसूचना भएपनि नेपाललाई नदिएको भन्ने आरोप लगाएर दुई देशबीचको सुमधुर सम्बन्ध बिगार्न नहुने कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
उनले सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना र अफवाह फैलाउने कार्य भइरहेको भन्दै जिम्मेवार बन्न समेत आग्रह गरे ।
उनले विगतमा नेपालमै भएका कयौं प्राकृतिक विपद्का घटनाको उदाहरण दिँदै यस्ता घटनामा पूर्वसूचना प्रदान गर्न सम्भव नहुने बताए ।
उनले हिमनदी, हिमताल र प्राकृतिक विपद्सम्बन्धी विषयमा जथाभावी टिप्पणी नगरी ग्ल्यासियोलोजी तथा सम्बन्धित विषयका विज्ञसँग मात्र धारणा लिनसमेत सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।