काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमछेउमा बनेको ठूलो तालबाट ग्लेसियर फुटेको जानकारी प्राप्त भएको सरकारले जनाएको छ । यद्यपि, त्यसबाट तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले चीन सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत निरन्तर संवाद भइरहेको र चिनियाँ पक्षबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी प्राप्त भइरहेको बताए ।
‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ पोखरेलले भने ।
उनका अनुसार ड्याम फुटेको नभई ग्लेसियर फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको हो ।
‘कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्लेसियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ उनले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ ।’