हंस सहकारीले विद्युतीय चुलो किस्तामा दिने

काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई विद्युतीय चुलो किस्तामा उपलब्ध गराउने भएको छ । सहकारीले ब्याज तथा सेवा शुल्कबिनै ३ हजार ६ सय रुपैयाँ मूल्यको  चुलो किस्तामा उपलब्ध गराउने भएको हो । 

सहकारीले ग्यासको बढ्दो मूल्य र अभावलाई मध्यनजर गर्दै ‘विद्युतीय चुलो किस्ता योजना’ सार्वजनिक गरेको जनाएको छ । यस योजनाअन्तर्गत सदस्यले मासिक ३ सय रुपैयाँका दरले एक वर्षमा चुलोको मूल्य भुक्तानी गर्न सक्नेछन् । 

योजनाअन्तर्गत म्याग्नस इन्डक्सन र अर्किड इन्फ्रारेड गरी दुई प्रकारका चुलो उपलब्ध हुनेछन् । दुवै चुलोको मूल्य ३ हजार ६ सय रुपैयाँ तोकिएको  छ । यी चुलो विक्रेता कम्पनीबाट एक वर्षको वारेन्टीसमेत उपलब्ध हुने सहकारीले जनाएको छ । चुलो भरतपुरस्थित प्रधान कार्यालयसहित टाँडी, विजयनगर र जितपुर सेवा केन्द्रबाट उपलब्ध हुनेछ ।

सहकारीका अध्यक्ष दिनेश कुमार चुकलेले ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउने र स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउने उद्देश्यले योजना ल्याइएको हो । सहकारीले एउटा ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ पुगेको उल्लेख गर्दै विद्युतीय चुलो प्रयोगबाट खाना पकाउने खर्चमा बचत हुने दाबी गरेको छ ।

योजनामा सहभागी हुन सहकारीको शेयर सदस्य हुनुका साथै नियमित बचत खाता सञ्चालनमा रहेको हुनुपर्नेछ । साथै, सहकारी वा अन्य वित्तीय संस्थाबाट लिएको कर्जामा खराब ऋणी नभएको हुनुपर्नेछ । आवेदनका लागि नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, बचत पासबुकको प्रतिलिपि र जमानीसम्बन्धी कागजात आवश्यक पर्नेछ ।

निवेदन स्वीकृत भएपछि सोही दिन चुलो हस्तान्तरण गरिने र किस्ता भुक्तानी अर्को महिनादेखि सुरु हुने सहकारीले जनाएको छ ।

सहकारीका अध्यक्ष चुकेले यो योजना नाफा कमाउने उद्देश्यले नभई सदस्यको भान्सालाई सहज, सुरक्षित र किफायती बनाउने अभियान भएको बताएका छन् ।
 

Share News