काठमाडौं । बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी-बैरेनी सडकखण्ड बिहीबार बेलुकादेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
बुधबार आएको बाढीले राजमार्गको जरिखेतखण्डमा पुल बगाउनुका साथै सडक गेग्र्यान र माटोले ढाकेको थियो । सडक विभागले जरिखेतको माटो तथा लेदो हटाएपछि बिहीबारदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालन गराइएको हो ।
जरिखेत खण्ड खुकुलो भएसँगै विभागले अब मलेखुतर्फका पोखरी, बाँगे र गलौदी क्षेत्रमा थुप्रिएको लेदो हटाउने काम तीव्र पारिएको जनाएको छ । ती स्थानहरूमा करिब ७०० मिटर क्षेत्रमा लेदो सफा गर्नुपर्ने अवस्था छ ।
विभागका अनुसार पोखरी, बाँगे र गलौदीको लेदो हटाउने काम शुक्रबार बेलुकासम्म सकिने अनुमान गरिएको छ । सो कार्य सम्पन्न भएसँगै पृथ्वी राजमार्ग पूर्ण रूपमा दुवैतर्फ सुचारु हुनेछ ।