काठमाडौं । रसुवासहित आसपासका जिल्लामा आएको विनाशकारी बाढीमा परेर घाइते भई काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना उपचारपछि डिस्चार्ज भएका छन् । बिहीबार बिहानसम्म विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ९ जना घर फर्किएका हुन् भने ३३ जनाको उपचार जारी रहेको छ ।
प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार उद्धार गरी काठमाडौं ल्याइएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
छाउनीस्थित सैनिक अस्पतालमा एक जना, वीर अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा ९ जना, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा १९ जना, नर्भिक अस्पतालमा तीन जना तथा मनमोहन मेमोरियल अस्पताल, स्वयम्भूमा एक जनाको उपचार भइरहेको जनाइएको छ ।
तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवासँगै नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रबाट घाइतेहरूको उद्धार गरी काठमाडौँ ल्याएर विभिन्न अस्पतालमा उपचारको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले घाइतेहरूको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी भइरहेको र आवश्यक उपचार तथा व्यवस्थापनका लागि सम्बन्धित निकायहरू समन्वयमा रहेको जनाएको छ ।