काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बदली छ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक रहनसमेत सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।