भोटेकोशी बाढीमा निधन हुनेको संख्या १५७ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १५७ जनाको निधन भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु भएकामध्ये ३४ जना महिला, ६३ जना पुरुष, ६ जना बालिका र ७ जना बालक छन् । थप ४७ जनाको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव फेला परेको छ । नुवाकोटमा ६ महिला र ७ पुरुष गरी १३ जनाको शव भेटिएको छ ।

त्यसैगरी, धादिङमा १० महिला, १० पुरुष, १ बालिका र पहिचान नखुलेका ६ जना गरी २७ जनाको शव फेला परेको छ । गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनासहित १९ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

चितवनमा सबैभन्दा बढी ६४ जनाको शव फेला परेको छ। तीमध्ये १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जना छन् ।

यस्तै, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १जनासहित ९ जनाको शव फेला परेको छ ।

नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, तीन बालिका, १ बालक र पहिचान नखुलेका ४ जनासहित २२ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

Share News