काठमाडौं । नेपाली सेनाले बुधबार रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ ।
बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो ।
आज रातभर ११ एक्स टिमबाट जमिनबाटै उद्धार जारी रहने छ । साथै भोलि बिहान टिमुरे माथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न टनेलमा अड्किएका व्यक्तिहरुको उद्धारको प्रयास पनि जारी रहने छ ।
नेपाली सेनाले उद्धारका लागि थप समन्वय साथ हवाई साधनहरुको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरुबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ साथ विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरु तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्नेछ ।
आज दिनभर एक हजार १६९७ परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । सेनाका अनुसार आज दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ । साथै जमिनबाट २७ जनाको उद्धार गरिएको छ ।
आज ८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरहरुबाट खाना तथा पानी उपलब्ध गराई राखिएको थियो ।