भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं । विपद् ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् ।

बाढीको समाचार बाहिर आएलगत्तै बिहान १०:३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्बसम्म सहयोग गर्न सकिने जानकारी गराएका थिए।

दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्री के–के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याइने तयारी भइरहेको बताए ।

यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् ।

छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तरसरकारी समन्वय गरी सहयोगको मोडालिटीका सन्दर्भमा छलफल भइरहेको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि घरेलु तथा बाह्य सहयोग जुटाउने बाटो खुलेको हो ।

Share News