काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने गरी चार जनाको उपचार भइरहेको जानकारी दिए ।
त्यसैगरी, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भने बाढीबाट घाइते भएका अधिकांशको उपचार भइरहेको छ ।
उपचाररतमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्बा तामाङ, कुशल मगर, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरलगायत छन् ।
गोरखा टिमुरे, गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।
नगरकोटीसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहँदा घाइतेको संख्या थपिन सक्ने प्रहरीले जनाएको छ ।