महिला सशक्तीकरण र सहकार्यमा जोड दिँदै मोरङमा मनाइयो तिजोत्सव

काठमाडौं । नेपाली नारीहरूको महान् हरितालिका तिज-२०८३ को अवसरमा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजनामा ‘तिजोत्सव २०८३’ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

संघको महिला उद्यम समितिकी संयोजक श्रुती शर्माको सभापतित्व तथा समितिकी सचिव जिना श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा कोशी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री गीता तिम्सिना प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिकी संयोजक श्रुती शर्माले हरितालिका तिज नेपाली समाजको धार्मिक तथा सांस्कृतिक जीवनसँग अभिन्न रूपमा जोडिएको मौलिक पर्व रहेको बताइन् । 

यस्ता कार्यक्रमले व्यावसायिक व्यस्तताबीच महिला उद्यमीहरूलाई आपसी भेटघाट, अनुभव तथा विचार आदानप्रदान र पारस्परिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने बताउँदै उनले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू ल्याउन समिति तत्पर रहेको जानकारी गराइन् ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले महिलाहरूको भूमिका र योगदानप्रति सम्मान व्यक्त गरे । 

वर्तमान समयमा महिलाहरू घरपरिवारको सीमित दायरामा मात्र नरही आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिक तथा विकासका विविध क्षेत्रमा सशक्त रूपमा आफ्नो उपस्थिति स्थापित गर्दै अघि बढिरहेको उनले बताए । 

महिला सशक्तीकरण तथा समावेशी विकासका लागि महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले सम्पूर्णमा तिजको शुभकामना व्यक्त गरे ।

Share News