काठमाडौं । १८औं नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरे । नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताए ।
उपराष्ट्रपति यादवले भने,‘नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।’ उनले जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे ।

उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिकमुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राखे ।
नेपाली अटोमोबाइल क्षटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाएर आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा बोल्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले सवारी साधनलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताए । उनले सवारी साधन नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकतासमेत भएको उल्लेख गरे ।
उनले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी तथा सामाजिक दृष्टिकोणमा पुनरावलोकन आवश्यक रहेको बताए ।अटोमोबाइल क्षेत्र १० लाखभन्दा बढी मानिसको रोजगारीसँग जोडिएको र यसबाट वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने उल्लेख गर्दै उप्रेतीले यो क्षेत्रले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।
उनले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न नसकेकोप्रति पनि चिन्ता व्यक्त गरे ।

भृकुटीमण्डपको वर्तमान संरचना ट्रक, बस तथा हेभी इक्विपमेन्ट प्रदर्शनका लागि पर्याप्त नभएको भन्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएको भृकुटीमण्डप स्तरोन्नतिको योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि उनले जोड दिए ।
व्यवसायमा दीर्घकालीन लगानी आकर्षित गर्न नीतिगत स्थिरता अपरिहार्य रहेको उनको भनाइ थियो । करका दर तथा नीतिमा बारम्बार हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन भइरहेको उल्लेख गर्दै उप्रेतीले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए ।
यसैगरी, नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जानु नयाँ अवसरका रूपमा देखा परेको उनले बताए । अब विद्युतीय सवारी साधनको एसेम्बल उद्योगमा मात्र सीमित नभई पार्टपुर्जा तथा कम्पोनेन्ट उत्पादनतर्फ समेत अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेपालमै उत्पादित सवारी साधनको स्थायित्व र प्रवद्र्धनका लागि सरकारले थप सहुलियत तथा प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
आजदेखि सुरु भएको नाडा अटो शो २०२६ छ दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, विद्युतीय गाडी, दुईपांग्रे सवारी, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित उत्पादन र प्रविधिहरू प्रदर्शनीमा राखिएका छन् ।