चेरी वान्डाका ईभी भ्यान नाइमा एक्स्पोमा, बिना धितो हायर पर्चेज सुविधा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक भ्यान प्रस्तुत गरेको छ ।

अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारी अवलोकन गर्न सकिनेछ ।

कम्पनीका अनुसार एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् ।

व्यावसायिक तथा स्कुल–कलेजलाई लक्षित गरी तयार गरिएका यी विद्युतीय भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र राम्रो ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

चेरी वान्डाका ११ र १२ सिट क्षमताका मोडलमा ४१.८६ किलोवाट क्षमताको सीएटीएल ब्याट्री रहेको छ । यी मोडलमा ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटक चार्ज गर्दा ३०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट क्षमताको सीएटीएल ब्याट्री रहेको छ । यसमा ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ ।

१६ सिट क्षमताको मिनी बसमा ५३.५८ र ७० किलोवाट क्षमताका सीएटीएल ब्याट्री विकल्प छन् । यसमा ८० र १२० किलोवाट पिक पावर तथा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।

मोडलअनुसार यी मिनी बसले एकपटक चार्ज गर्दा २८० देखि ३५० किलोमिटरसम्म यात्रा गर्न सक्नेछन् ।

व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीप्रति आकर्षण बढिरहेका बेला चेरी वान्डाका यी विद्युतीय भ्यान यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प बन्ने कम्पनीको अपेक्षा छ ।

यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ ।

यस सुविधाले व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ ।

एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकले चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीका मोडल, विशेषता, रेन्ज र खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

Share News