नाइमा मोबिलिटी एक्स्पो : सुरुको दिनमै व्यवसायी उत्साहित

पहिलो दिन यी ब्राण्ड भए लन्च

काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला सवारीसाधनका सौखिन र आवश्यकता भएका ग्राहकहरूले भरिभराउ छ । नाइमाले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणले छुट्टै रौनक ल्याएको छ । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजिएका छन् । जसलाई अवलोकनकर्ताहरूले सवारी साधनको कुम्भमेलाको संज्ञा दिएका छन् । 

एक्स्पोको प्रवेशद्वारमै भेटिएका केएमसी कलेजका विद्यार्थी मिसन भट्टराई निकै उत्साहित देखिन्थे । हातमा मोबाइल समात्दै खल्ती एपमार्फत टिकट काटिरहेका उनले ५० प्रतिशत क्यासब्याक पाएकोमा खुसी व्यक्त गरे । ‘हाम्रो लागि यो एउटा ठुलो अवसर हो,’ उनले भने, ‘डिजिटल पेमेन्टबाट सहुलियत पनि पाइने र नयाँ फिचर्सका गाडीहरूका बारेमा बुझ्न पनि पाइने ।’

मिसनजस्तै सयौं विद्यार्थीहरू गाडीका नयाँ प्रविधि, इन्जिनका क्षमता र भित्री बनावट (इन्टेरियर) बुझ्न लाइनमा बसेका देखिन्छन् । उनीहरूका लागि यो मेला केवल प्रदर्शनी मात्र नभएर अटोमोबाइल इन्जिनियरिङ र ट्रेण्ड बुझ्ने एउटा खुल्ला पाठशाला पनि बनेको छ ।

प्रदर्शनीमा भेटिएका मुकुन्द खड्काका अनुसार अचेल गाडी विलासिता मात्र नभएर मध्यम वर्गीय नेपालीका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ । सानोठिमीबाट आएका मुकुन्द एउटा उपयुक्त गाडीको खोजीमा छन् । उनी भन्छन्, ‘पहिले गाडी सोखका लागि हुन्थ्यो, अहिले काम र सहजताका लागि अनिवार्य भइसकेको छ ।’

null

पेट्रोलको बढ्दो मूल्यले आजित भएका ग्राहकहरूका लागि यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण बनेको छ । रामकोटबाट आएका रामेश्वर भट्टले प्रदर्शनीको अधिकांश समय ईभी स्टलहरूमा बिताए । 

‘पेट्रोल दिनप्रतिदिन महँगो हुँदैछ । त्यसैले अबको विकल्प भनेकै ईभी हो,’ उनले आफ्नो अनुभव सुनाए । विभिन्न ब्राण्डका गाडीहरूलाई एकै ठाउँमा तुलना गर्न पाउनु यो मेलाको सबैभन्दा सबल पक्ष रहेको उनको ठम्याइ छ ।

स्कुटर खोज्दै महिला ग्राहक 

महिला अवलोकनकर्ताहरूको रुचि विशेषगरी दुई पाङ्ग्रे सवारीसाधनमा देखियो । सरिता भट्ट नयाँ स्कुटर किन्ने योजनाका साथ एक्स्पो पुगेकी थिइन् ।  उनले प्रदर्शनीको सजावट र छुट अफरको प्रशंसा गरिन् । यद्यपि, भृकुटीमण्डप भित्रको अत्यधिक गर्मीले गर्दा केही असजिलो महसुस भएको उनले बताइन् । ‘माहोल एकदम एक्साइटिङ छ, तर भित्र अलि गर्मी छ । आउने साथीहरूले पानीको बोतल र फ्यान बोकेर आउनुभयो भने राम्रो हुन्छ,’ उनले भनिन् । 

अहिलेको डिजिटल युगमा सबै जानकारी इन्टरनेटमा पाइन्छ भन्ने सोच धेरैमा छ । तर, एक्स्पोमा भेटिएकी आज्ञा भण्डारीको विचार फरक छ । ‘कतिपय कम्पनीका वेबसाइटहरू अपडेट हुँदैनन् । अनलाइनमा सबै फिचर्स बुझ्न गाह्रो हुन्छ,’ उनले भनिन् ।

उनी आफै विद्यार्थी र कर्मचारी भए पनि गाडीको वास्तविक अवस्था बुझ्न मेलामै आउनु उपयुक्त हुने बताउँछिन् । ‘यहाँ आएर गाडी छाम्न पाइन्छ । भित्र बसेर अनुभव गर्न पाइन्छ र प्रत्यक्ष जानकारी लिन पाइन्छ । त्यसैले वर्षमा एक पटक हुने यस्तो मेला छुटाउनु हुँदैन,’ उनले भनिन् ।

null

पहिलो दिन यी ब्राण्ड भए लन्च 

एक्सपोमा नयाँ गाडीहरू पनि लन्च भएका छन् । जसमा  बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले एकैपटक तीन नयाँ मोडलका गाडीहरू बजारमा ल्याएको छ । कम्पनीले एटो १ को फेसलिफ्ट, एटो २ को ४५ किलोवाट आवर ब्याट्री क्षमता भएको बेस भेरियन्ट र एटो ३ को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको हो । मूल्यको हिसाबले बीवाईडी एटो १ फेसलिफ्टको डाइनामिक भेरियन्टको ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, एटो २ को इसेन्सियल भेरियन्ट ४५ लाख १५ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । बीवाईडी एटो ३ को एडभान्स भेरियन्टको मूल्य ६२ लाख १० हजार रुपैयाँ र सुपेरियरको ७८ लाख रुपैयाँ राखिएको छ ।

अर्कोतर्फ चिनियाँ कम्पनी चेरीले आफ्नो नयाँ क्युब्याक ब्रान्डअन्तर्गत क्यु ३ मोडल नेपाली बजारमा भित्र्याएको छ । आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो नयाँ पुस्ताको इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट क्षमताको ब्याट्री रहेको छ । जसले एकपटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । 

एक्सपोमा क्यु ३ मोडलको कम्फर्ट भेरियन्टको मूल्य ३० लाख १९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३२ लाख १९ हजार रुपैयाँ राखिएको छ भने यसको सामान्य एमआरपी ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार निर्धारण गरिएको छ । यसैबीच, जापानी अटोमोबाइल ब्रान्ड निसानले पनि मोबिलिटी एक्सपोमा आफ्नो नयाँ पुस्ताको एसयूभी टेकटन सार्वजनिक गरेको छ । 

null

नेपालका लागि निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बजारमा ल्याएको ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन ल्याङ्ग्वेज र आधुनिक इन्टेरियरसहितको यो टेकटन एसयूभीको मूल्य ५१ लाख २९ हजार तोकिएको छ ।

यस्तै, नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुईवटा मोडल लन्च गरेको छ । जसमा हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी लन्च गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा र्याभ फोर हाइब्रिडको २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी फेसलिफ्ट बिक्र सुरू गरेको छ । कम्पनीले पन्च ईभीको ३ भेरियन्ट उपलब्ध गराएको छ । 

कम्पनीले पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । योसँगै बजेटपछि आएको पन्च ईभीको मूल्य ४ लाखसम्मले घटेको छ । यसअघि पन्च ईभी ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो ।

एक्स्पोले नेपाली अटोमोबाइल बजारको बदलिँदो स्वरूपलाई झल्काएको छ । विशेष गरी मध्यम वर्गीय परिवारको सवारी सपना र इन्धनको विकल्पमा विद्युतीय ऊर्जाप्रतिको आकर्षण यस पटकको मुख्य सार देखिन्छ । एकातिर नयाँ मोडेलका लक्जरियस कारहरूको चमकधमक छ भने अर्कोतिर सर्वसाधारणका लागि उपयुक्त बजेट र सुविधायुक्त स्कुटर तथा बाइकहरूको लर्को ।

गर्मी र भीडभाडका बाबजुद भृकुटीमण्डपमा देखिएको यो मोबिलिटीको लहरले नेपालीहरूको क्रयशक्ति र नयाँ प्रविधिप्रतिको मोहलाई प्रस्ट पारेको छ । प्रदर्शनी आजसहित ६ दिन चल्ने जनाइएकाे छ । 

के भन्छ आयोजक ?

एक्स्पोका संयोजक गौरव शारडाले यसलाई नेपालको मोबिलिटी क्षेत्रकै महाकुम्भको संज्ञा दिएका छन् । उनका अनुसार यो प्रदर्शनी हालसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पो हो ।

६ दिनसम्म चल्ने यस मेलामा ४० भन्दा बढी नयाँ सवारी साधनहरू लन्च हुने क्रम जारी रहेकाे शारडाकाे भनाइ छ । जसमा आजमात्रै २० वटा ब्राण्ड लन्च भएका छन् । प्रदर्शनीमा परम्परागत इन्धन, विद्युतीय साधन र हाइब्रिड प्रविधिका दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा व्यावसायिक सवारी साधनहरू राखिएका छन् । 

मनसुनको समयलाई ध्यानमा राखेर प्रदर्शनी स्थललाई पूर्ण रूपमा रेन रेजिस्टेन्स (पानी नछिर्ने) बनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि एक्सेसिबल फ्रेन्डली पूर्वाधार र स्वयंसेवकको सहयोगमा ‘गाइडेड भिजिट’ को व्यवस्था गरिएको छ । प्रदर्शनी केवल गाडीको प्रदर्शनीमा मात्र सीमित नभएको शारडाले जानकारी दिए । 

null

उनले मेलाको अवधिभर हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म ‘नेपाल मोबिलिटी संवाद’ सञ्चालन
हुने बताए ।  यसमा नीति निर्माता, उद्योगी र विज्ञहरूले सडक सुरक्षा, फाइनान्स र दिगो मोबिलिटीका बारेमा छलफल गर्नेछन् । 

यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई ग्रान्डी हस्पिटलको प्राविधिक सहयोगमा दुर्घटनापछिको प्राथमिक उपचार र सीपीआरसम्बन्धी तालिमका साथै ईभी दुर्घटना व्यवस्थापन सम्बन्धी विशेष प्रस्तुतिसमेत दिइने उनको भनाइ छ । 

प्रदर्शनी मंगलबार दिउँसो १ बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । बुधबारदेखि १६ तारिखसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनकर्ताहरूले मेला भ्रमण गर्न सक्नेछन् । 

पार्किङको सहजताका लागि नेपाल प्रहरीको ब्लु प्याभिलियन मुनिको क्षेत्रलाई थप पार्किङ स्थलका रूपमा व्यवस्थापन गरिएको छ । ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको यस एक्स्पोलाई रेडबुल, एनएमबी बैंक, सिद्धार्थ बैंक लगायतका दर्जनौं व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन् ।

नाइमाले सबै आम नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई एक्स्पो अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन र यस क्षेत्रको विकासमा सहभागी हुन निम्तो समेत दिएको छ । 

Share News