काठमाडौं । यदि तपाईंले कहिल्यै गर्मीयामको अत्यधिक तापमा फ्रिज खोलेर टाउकोभित्र राख्दै ‘यसैभित्र पस्न पाए कस्तो हुन्थ्यो’ भन्ने सोच्नुभएको छ भने जापानले त्यो कल्पनालाई वास्तविक उपकरणमा परिणत गरेको छ ।
जापानको एक कम्पनीले ‘ह्युमन रेफ्रिजेरेटर’ नामको एकल व्यक्तिका लागि बनाइएको विशेष कुलिङ बुथ सार्वजनिक गरेको छ ।
यसको उद्देश्य केही मिनेटमै शरीरको तापक्रम घटाएर गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बचाउनु हो ।
‘डो हिएमोन बक्स’ नाम दिइएको यो डिजाइनको बुथ जापानी रेफ्रिजेरेसन तथा भेन्डिङ मेसिन निर्माता एसडीआरएसले विकास गरेको हो भने यसको बिक्री औद्योगिक उपकरण आपूर्तिकर्ता ट्रक्सो नाकायामाले गरिरहेको छ ।
बाहिरबाट हेर्दा यो सिसाको ढोका भएको सानो धातुको क्याबिन जस्तो देखिन्छ । तर यसमा खाना राखिँदैन, मानिसलाई चिसो बनाउन विशेष रूपमा डिजाइन गरिएको हो ।
कम्पनीले सार्वजनिक गरेको भिडियोअनुसार यसमा पारदर्शी सिसाको ढोका र भित्र बस्ने सिट हुन्छ । प्रयोगकर्ताले बुथभित्र प्रवेश गरी सिटमा बस्ने, ढोका बन्द गर्ने र त्यसपछि चिसो हावाले शरीरलाई चिस्याउने काम गर्छ ।
बुथभित्रको तापक्रम करिब १५ डिग्री सेल्सियस कायम राखिन्छ भने ५ डिग्री सेल्सियस तापक्रमको चिसो हावा सिधै टाउको, घाँटी, काँध र ढाडतर्फ फालिन्छ ।
कम्पनीका अनुसार करिब ५ मिनेटमै प्रयोगकर्ताले शरीर निकै चिसो भएको महसुस गर्न थाल्छन् । १० मिनेटसम्म प्रयोग गर्दा शरीरको तापक्रम घट्न मद्दत पुग्ने र गर्मीका कारण हुने थकान तथा असहजताका लक्षण कम हुने दाबी गरिएको छ ।
यसमा तीनवटा कुलिङ मोड छन् । साथै अत्यधिक चिसो हुन नदिन २० मिनेटपछि यो स्वतः बन्द हुने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार ‘डो हिएमोन बक्स’ लामो समयसम्म बाहिर वा अत्यधिक गर्मी भएको स्थानमा काम गर्ने व्यक्तिहरूलाई लक्षित गरी बनाइएको हो ।
यसमा निर्माण मजदुर, कारखाना कर्मचारी, गोदाममा काम गर्ने श्रमिक तथा खुला स्थानमा आयोजना हुने कार्यक्रमका कर्मचारी समावेश छन् ।
यो बुथ स्थायी रूपमा जडान गर्नुपर्ने आवश्यकता पर्दैन । घरभित्र वा बाहिर दुवै ठाउँमा प्रयोग गर्न सकिन्छ । साथै यसमा पाङ्ग्रा भएकाले आवश्यक स्थानमा सजिलै सार्न पनि सकिन्छ ।
कम्पनीका अनुसार यो कुलिङ बुथले सामान्य स्पट एयर कन्डिसनर (एसी) को तुलनामा करिब आधा मात्र बिजुली खपत गर्छ । त्यसैले अत्यधिक गर्मीबाट छिटो राहत दिने ऊर्जामैत्री विकल्पका रूपमा यसलाई प्रस्तुत गरिएको छ ।
यसको अवधारणा लोकप्रिय जापानी कार्टुन पात्र डोरेमोनको जादुई खल्तीबाट निस्किएको उपकरणजस्तै लागे पनि यो घरेलु प्रयोगका लागि बनाइएको होइन । ‘डो हिएमोन बक्स’ मुख्य रूपमा व्यवसायिक प्रतिष्ठान, कारखाना, गोदाम र निर्माणस्थलका लागि लक्षित गरिएको हो ।
अत्याधुनिक प्रविधि भएकाले यो फ्रिजको मूल्य पनि सस्तो छैन । स्ट्यान्डर्ड ‘डो हिएमोन बक्स’को मूल्य १५ लाख जापानी येन (करिब साढे १४ लाख रुपैयाँ) तोकिएको छ ।