काठमाडौं । ट्रम्पले इरानमाथिको नयाँ सैन्य आक्रमण स्थगित गर्ने निर्णय गरेपछि सोमबार (आज) अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
त्यसैबेला सुरक्षित लगानीतर्फ लगानीकर्ताको आकर्षण बढेसँगै सुनसहित अन्य बहुमूल्य धातुको मूल्य भने उकालो लागेको छ ।
ब्रेन्ट क्रुडको मूल्य ४.०८ डलर अर्थात् ४.६४ प्रतिशतले घटेर प्रति ब्यारेल ८३.८५ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुड ४.०१ डलर अर्थात् ४.७४ प्रतिशतले घट्दै प्रति ब्यारेल ८०.६६ डलरमा कारोबार भएको छ ।
उता सुनको मूल्यमा भने उल्लेखनीय वृद्धि भएको छ । ट्रम्पको निर्णयपछि मुद्रास्फीति र ब्याजदरसम्बन्धी चिन्ता केही कम भएकाले लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएका हुन् ।
स्पट गोल्ड ०.७ प्रतिशतले बढेर प्रति औंस ४ हजार ६७.०६ डलर पुगेको छ भने अमेरिकी गोल्ड फ्युचर्स ०.९ प्रतिशतले वृद्धि हुँदै प्रति औंस ४ हजार ६५.६० डलरमा कारोबार भएको छ ।
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्दै इरानको परमाणु कार्यक्रमबारे छिट्टै सम्झौता हुने र स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने सम्भावना व्यक्त गरेका थिए ।