ऋतिकमाथि कंगनाको प्रहार- ‘सबा भेटिसक्नुभयो, अब मलाई जिस्क्याउन छोड्नूस्’

काठमाडौं । बलिउड अभिनेत्री तथा बिजेपीकी नेतृ कंगना रनौतले अभिनेता ऋतिक रोशनको हालैको अभिव्यक्तिलाई ‘आधारहीन’ भन्दै त्यसको कडा आलोचना गरेकी छन् । 

कंगनाले ऋतिकका टिप्पणीहरूले आफूविरुद्ध भइरहेको अनलाइन ट्रोलिङलाई थप प्रोत्साहन दिएको र त्यस्ता व्यक्तिविरुद्ध खुला रूपमा बोल्न उनी पछि हटिरहेको आरोप लगाएकी छन् ।

यतिबेला सामाजिक सञ्जालमा ‘सरी ऋतिक’ ट्रेन्ड चलिरहेको छ भने कंगना–ऋतिकबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ ।

यसैबीच इन्स्टाग्राममा एउटा पोस्ट सार्वजनिक भयो, जसमा लेखिएको थियो, ‘संसारले ऋतिक रोशनसँग माफी माग्नुपर्छ।’

यो पोस्ट कंगना रनौतले विद्यार्थीहरूको प्रदर्शनबारे टिप्पणी गरेपछि सार्वजनिक भएको बताइएको छ ।

उक्त पोस्टमा प्रतिक्रिया दिँदै ऋतिक रोशनले सामाजिक सञ्जालमा चलिरहेका न्यारेटिभका आधारमा धारणा बनाउन नहुने बताएका थिए ।

उनले कुनै पनि विषयमा आफ्नो धारणा बनाउनु अघि सही सन्दर्भ र तथ्यहरूको प्रतीक्षा गर्ने बताएका थिए ।

ऋतिकले कमेन्टमा लेखेका थिए, ‘साथी, अहिले ‘बी’ मन नपरेको भन्दै ‘ए’ को पक्ष लिनु हाम्रो समाजको ठूलो समस्याको सानो अंश मात्र हो । म सही सन्दर्भ र तथ्यहरूको प्रतीक्षा गर्नेछु । त्यही निष्पक्ष हुनेछ । तर अहिले त्यसको कसलाई वास्ता छ र ?’

ऋतिकको यही टिप्पणीको स्क्रिनसट कंगना रनौतले आफ्नो इन्स्टाग्राम स्टोरीमा साझा गर्दै उनको आलोचना गरेकी हुन्।

कंगनाले आफ्नो स्टोरीमा लेखेकी छन्, ‘प्रिय ऋतिक, तपाईंलाई तपाईंको उपयुक्त जीवनसाथी सबा आजाद भेटिनुभएकोमा म खुसी छु । तपाईंहरू दुवै सँगै निकै राम्रो देखिनुहुन्छ र प्रतिबद्ध सम्बन्धमा हुनुहुन्छ । यस्तो अवस्थामा कुनै महिलालाई यसरी जिस्क्याउनू तपाईंलाई सुहाउँदैन ।’

उनले थप लेखेकी छन्, ‘यसको सट्टा तपाईंले तपाईंको नाम प्रयोग गरेर मलाई दुःख दिने र अनलाइन बुलिङ गर्नेहरूको निन्दा गर्नुपर्थ्यो । आगोमा घ्यू थप्ने र आफ्नै पार्टनरलाई लज्जित बनाउने काम नगरी समझदारी अपनाउनुहोस्। आशा छ, तपाईंमा सद्बुद्धि आउनेछ र यस्ता आधारहीन टिप्पणी गर्न छोड्नुहुनेछ ।’

कंगनाले सामाजिक सञ्जालमा यस प्रकारका टिप्पणी गर्नु उचित नभएको र यस्ता अभिव्यक्तिले अनलाइन ट्रोलिङलाई थप बढावा दिने पनि बताएकी छन् ।

Share News