काठमाडौं । टर्कीको प्रहरीले राजधानी अङ्काराको एतिमसगुत नगरपालिकाका मेयर एर्दाल बेसिकिओग्लुसहित ५५ जनालाई भ्रष्टाचार अनुसन्धानका क्रममा हिरासतमा लिएको छ । आन्तरिक मन्त्रालयका अनुसार विपक्षी दलद्वारा सञ्चालित नगरपालिकालाई लक्षित गरी यो कारबाही अघि बढाइएको हो ।
पक्राउ परेका मेयर बेसिकिओग्लु प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) का सदस्य हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी टर्कीका एक चर्चित अभिनेताका रूपमा स्थापित थिए । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार यस अभियानका क्रममा उनका तीनजना उपमेयरहरूलाई समेत नियन्त्रणमा लिइएको छ ।
नगरपालिकाभित्र भएको भनिएको भ्रष्टाचार र अनियमितताको उजुरीका आधारमा अभियोजकहरूले गिरफ्तारी वारेन्ट जारी गरेपछि बिहीवार बिहानै समन्वयित रूपमा छापा मारिएको थियो । प्रहरीले नगरपालिकाको कार्यालय र संदिग्ध व्यक्तिहरूको निवासमा समेत विस्तृत खानतलासी गरेको छ ।
पछिल्लो समय विपक्षी दल सीएचपीको नेतृत्वमा रहेका विभिन्न नगरपालिकाहरूमा भ्रष्टाचार अनुसन्धानलाई तिब्र बनाइएको छ । यसै सिलसिलामा, गत बुधबार मात्रै इस्तानबुलको उस्कुदार नगरपालिकाकी मेयर सिनेम देदेताससहित २३ जना अधिकारीहरूलाई हिरासतमा लिइएको थियो । उनीहरूमाथि निर्माण तथा बसोवास अनुमति पत्र वितरणका क्रममा घुसखोरी र असुली गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।