साउदीले बनायो १४ देशको सुरक्षा गठबन्धन

काठमाडौं । साउदी अरबले लाल सागरको सुरक्षाका लागि रियादमा १४ देश सम्मिलित नयाँ गठबन्धन गठन गरेको छ । साउदी अरबसहित १३ अन्य देशले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै बाब अल–मन्देब जलडमरूमध्य, लाल सागर र अदनको खाडीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य व्यक्त गरेका छन् ।

इरान समर्थित हूती विद्रोहीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी जारी राखेको र हर्मुज जलडमरूमध्य पहिले नै बन्द रहेको अवस्थामा साउदीले यो कदम चालेको हो । गठबन्धनमा साउदी अरब, कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया सदस्य छन्।

गठबन्धनको प्रारम्भिक चार्टरको समीक्षा गर्न रियादमा बैठक आयोजना गरिएको थियो। बैठकमा ४३ देशका सैन्य प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका थिए । साथै युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले पनि प्रत्यक्ष वा भिडियो माध्यमबाट सहभागिता जनाएको थियो ।

साउदी रक्षा मन्त्रालयका अनुसार साउदी अरब यस गठबन्धनको संस्थापक राष्ट्र हुनेछ र यसको मुख्यालय रियादमा रहनेछ ।

गठबन्धनको संरचनामा संयुक्त कमाण्ड तथा नेतृत्व प्रणाली, संयुक्त सञ्चालन नियन्त्रण केन्द्र (जेओसीसी) र महासचिवालय  रहनेछ । मन्त्रालयले आवश्यक आन्तरिक प्रक्रिया पूरा गर्ने अन्य देशका लागि पनि सदस्यता खुला रहने जनाएको छ ।

समुद्री आवागमनको स्वतन्त्रताको रक्षा गर्ने, बाब अल–मन्देब हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग र ऊर्जा ढुवानीको सुरक्षा गर्ने, सदस्य राष्ट्रबीच गुप्तचर सूचना आदानप्रदान बढाउने, संयुक्त नौसैनिक अभ्यासमार्फत समन्वय सुदृढ गर्ने लगायतका गठबन्धनको मुख्य उद्देश्यहरू रहेको जनाइएको छ ।

साउदीका रक्षा मन्त्री राजकुमार खालिद बिन सलमानको अमेरिका भ्रमणपछि यो पहल अघि बढाइएको हो । 

वाशिङ्टनमा भएको भेटवार्तामा साउदीमाथि हूती विद्रोहीका आक्रमण तथा इरान समर्थित समूहहरूबाट इराक हुँदै हुन सक्ने सम्भावित आक्रमणबारे छलफल भएको थियो ।

इरान समर्थित हूती विद्रोहीहरूले जुलाई २० देखि साउदी अरबमाथि समुद्री नाकाबन्दी लागू गरेका छन् । त्यसयता उनीहरूले लाल सागरमा साउदीसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन् ।

यसको प्रत्युत्तरमा साउदी अरबले यमनको होदेइदाह बन्दरगाहस्थित हूती अड्डाहरूमा हवाई आक्रमण गरेको छ । साउदीका अनुसार ती अड्डाहरू व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुँदै आएका छन् ।

साउदी अरबको अर्थतन्त्र ठूलो मात्रामा तेल निर्यातमा निर्भर छ । हूतीहरूको नाकाबन्दीले ऊर्जा निर्यातमा गम्भीर असर पारेको छ, किनभने साउदीको अधिकांश तेल तथा ऊर्जा कारोबार बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुन्छ ।

यो समुद्री मार्गबाट विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा ओसारपसार हुन्छ। मूल्यका हिसाबले पनि विश्व व्यापारको यति नै हिस्सा लाल सागरको उत्तरी किनारमा रहेको स्वेज नहर हुँदै आवतजावत गर्छ, जहाँ बाब अल–मन्देब जलडमरूमध्य जोडिन्छ ।

यदि जहाजहरूले यो मार्ग सुरक्षित रूपमा प्रयोग गर्न नसकेमा उनीहरूलाई अफ्रिकाको केप अफ गुड होप हुँदै लामो मार्ग अपनाउनुपर्छ । शिपिङ उद्योगका अनुसार यसले एशिया–युरोपबीच माल ढुवानीमा १० देखि १४ दिनसम्म अतिरिक्त समय लाग्ने र केही मार्गमा ढुवानी खर्च १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरेको छ । यसैको प्रभावस्वरूप कच्चा तेलको मूल्य पनि बढेर प्रतिव्यारेल ९० अमेरिकी डलर नाघेको छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री)

अन्य पठनीय सामग्रीहरू :

युद्धपछि रित्तिँदै अमेरिकी हतियार, ५८.६ अर्ब डलरको रेकर्ड मिसाइल सम्झौता

‘मोस्ट वान्टेड’ सूचीमा टेलिग्रामका संस्थापक पाभेल डुरोभ

साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?

Share News