खुल्दैन बस चालक र सहचालकको परिचय, हुँदैन कानुन कार्यान्वयन

३५ सय सार्वजनिक यातायातले क्यामेरा जोडे

काठमाडौं । जिवन लामा भक्तपुर बस सेवा समिति अन्तर्गत चल्ने बसमा परिचालकको काम गर्छन् । उनी काम गर्ने बस बागबजार, बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरसम्म पुग्ने गर्छ ।

उनी दैनिक दुई सय बढी यात्रुसँग पैसा उठाउँछन् । सबै यात्रीसँग गन्तव्यमा पुग्नुभन्दा अगाडि उनी पैसा माग्ने काम गर्छन । २० वर्षीय लामा परिचालकको काम गरेको एक वर्ष भयो । 

उनले साथमा परिचालककाे न परिचय पत्र नत युनिफर्मसमेत छ । उनीसँग नत बागमती प्रदेश यातायात कार्यालयले उपलब्ध गराएको अनुमति पत्र नै छ । सवारीधनीले दिएको परिचय पत्र नै छ व्यवस्थापकले दिएको परिचय पत्र नै छ।

'हामीलाई कसैले पनि परिचयपत्र दिएको छैन,’ उनले भने,’ बसका साहुजीले पनि दिएका छैनन् । बस व्यवसायी संघले पनि परिचयपत्र दिएको छैन । मलाई साहुले बोलाए अनि काम गर्न थालेको हुँ ।'

अहिलेसम्म परिचयपत्र चाहिन्छ भनेर कोही कसैले नसोधेको लामाले बताए । ट्राफिक प्रहरीले पनि परिचय पत्रको खोजी नगरेको उनले जानकारी दिए ।

'बसका साहुलाई हामीबाट काम मात्र चाहिएको छ । हामीबाट गल्ती भयो भने गाली गर्ने र तलब काट्ने काम गर्छन्,’ उनले दुःखेसो पोखे,’ हामीलाई चाहिने युनिफर्म र परिचयपत्र परको कुरा अघिल्लो दिनको तुलनामा पैसा कम बुझायो भने मात्र साहुको भनाइ खानुपर्छ ।'

बुढानिलकण्ठ यातायातमा काम गर्ने रमेश श्रेष्ठको गुनासाे पनि उस्तै छ। साहुलाई बुझाउने काम मात्र आफ्नो रहेको उनको बुझाइ छ । श्रेष्ठले रत्नपार्क बुढानिलकण्ठ सडक खण्डमा चल्ने यातायातमा काम गरेको ३ वर्ष भयो । आफूलाई मन लाग्दी लुगा लगाएर काम गर्न जानुपरेको उनले बताए ।

बुढानिलकण्ठ यातायात व्यवसायी संघले हामीलाई कुनै पनि परिचयपत्र र युनिफर्म उपलब्ध नगराएको उनको भनाइ छ । ' परिचयपत्र बोक्नुपर्छ भनेर संघका कुनै मानिसले बताएका छैनन्,’ उनले भने ,’ हामी पैसा माग्छौ त्यहीँ मात्र मेरो काम हो । पैसासँग आफ्नो पेशालाई मर्यादित बनाउनु पर्छ भनेर कसैले पनि सल्लाह सुझाव दिएका छैनन् ।'

काठमाडौं मलदेखि बालाजु बाइसाधारा रुटमा सञ्चालनमा रहेका माइक्रो बसमा राम मल्ल पैसा उठाउने काम गर्छन् । शरीरमा हरियो ज्याकेट भिरेका छन् । घाटीमा रुमाल बाँधेका छन् । तर, साथमा परिचय पत्र छैन। 

हामीलाई कसैले पनि परिचयपत्र बोक्नुपर्छ भनेर कसैले नभनेको मल्लले बताए । 'हाम्रो काम यात्रुलाई बोलाउने र यात्रुसँग पैसा उठाउने हो,' उनले विकासन्युजसँग भने । 

बागमती प्रदेशमा सञ्चालनमा आएका सार्वजनिक यातायातका परिचालकले साथमा परिचय पत्र बोक्नुपर्छ । काठमाडौं उपत्यका लगायत यहाँबाट छुट्ने लामो दुरीका सार्वजनिक यातायातका परिचालकले परिचय पत्र बोक्दैनन् ।

परिचालकलाई अर्को भाषामा सहचालक पनि भनिन्छ । परिचालकको काम यात्रीहरूसँग पैसा उठाउने र सार्वजनिक यातायातलाई रोक्ने तथा अगाडि बढ्ने अनुमति दिने गर्छन् ।

सामान्यतया सार्वजनिक यातायातमा सवार यात्रुहरूले पैसा माग्न आउने व्यक्तिको परिचय थाहा पाउनुपर्छ । तिनै पैसा माग्न आउनेलाई परिचालक भन्ने गरिएको छ गन्तव्यमा पुर्याउँने कस्ता-  कस्ता व्यक्तिहरू सार्वजनिक यातायातमा छन् ।

परिचालकलाई तालिम दिँदैछौं 

प्रदेश सरकारले ल्याएको कानुन काम नभएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले बताए । परिचालकलाई अनुशासित बनाउन व्यवसायीको तर्फबाट पहल भइरहेको उनको भनाइ छ । प्रदेश सरकारको कानुन कार्यान्वयन गर्न चुनौती थपिएको उनको भनाइ छ ।

'तल्लो वर्गबाट आएका मानिसहरू छन् । शिक्षित बनाउनु पर्ने हाम्रो जिम्मेवारी छ । एउटा संस्कारबाट आएकालाई हामीले केही सिकाएका छौ,’ उनले भने,’ परिचालकलाई हाम्रो तर्फबाट ओरियन्टेसन दिएको र प्रदेश सरकार पर्याप्त छैनन् ।'

सरकारले चालक र सहचालकलाई सुधार गर्नुपर्ने केही कार्यक्रम नल्याएको सिटौलाको भनाइ छ । राम्रा मानिसलाई क्लास दिने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

बजेट छुट्याएको बेलामा तालिम दिने गर्ने गरेको उनले बताए । सामाजिक सुरक्षा लगायत तथा प्रविधिको विकासले सहचालकलाई थप सुविधा गर्ने उनले विश्वास व्यक्त गरे ।

सहचालकलाई युनिफर्म र परिचयपत्र ताकेता

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले  सार्वजनिक यातायातका चालक  र सहचालकलाई अनिवार्य परिचयपत्र तथा युनिफर्म लागू गर्न आग्रह गरिसकेको बताए ।

'सरोकारवाला निकायसँग छलफल भइरहेको छ,'उनले भने,' यातायात व्यवसायी महासंघका पदाधिकारीहरूसँग केही दिनमा छलफल हुँदैछ ।' सबै यातायात व्यवसायीलाई परिचय पत्र र युनिफर्म अनिवार्य गर्न अनुरोध गरिसकेको काफ्ले बताउँछन् । 

'सार्वजनिक यातायातमा सहचालक चढे वा चढेनन त्यसको बारेमा यात्रुले थाहा पाउनुपरो नि,'उनी भन्छन्,' हामीले व्यवसायीलाई फ्लो अप गरिरहेका छौँ । यस विषयमा व्यवसायीहरू सकरात्मक छन् ।'

भदौँको पहिलो साताबाट चालक र सहचालकलाई अनिवार्य युनिफर्म तथा परिचयपत्रको व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिने उनले बताए । साउनभरीमा व्यवसायीसँग वार्ता गरिने उनको भनाइ छ ।

त्यसैगरी, ३ हजार ५ सय  सार्वजनिक यातायातले ड्यास बोर्ड क्यामरा र जीपीएस प्रणालीले जडान गरिसकेको उनले काफ्लेले जानकारी दिए। काठमाडौंबाट लामो दुरीमा जाने रात्रीकालीन बसलेसमेत क्यामेरा जडान गरिसकेको उनको भनाइ छ।

उनका अनुसार जीपीएसले गाडी कहाँ पुग्यो र कस्तो अवस्थामा छ भनेर थाहा पाइन्छ । ड्यासबोर्ड क्यामेराले भने सार्वजनिक यातायातमा यात्रुहरूको अवस्थाका बारेमा जानकारी हुन्छ।

निजी सवारीसाधनलाई ड्यासबोर्ड क्यामेरा राख्न लगाउन अनुरोध गरिने उनले उल्लेख गरे । साझा यातायात लगायत केही सार्वजनिक यातायातले ड्यासबोर्ड क्यामेरा राखिसकेको काफ्लेले जानकारी दिए ।

सार्वजनिक यातायातको ढोकामै भाडाको सूची र क्यू आरसमेत राख्न लगाइने काफ्लेले बताए। पैसा नबोकेका यात्रुले क्यूआरको माध्यमबाट पैसा पेमेन्ट गर्न सक्ने उनले बताए ।

ऐनमा के छ ?

बागमती प्रदेश सरकारको ऐनले सार्वजनिक यातायातमा काम गर्ने परिचालकले साथमा अनिवार्य परिचय पत्र बोक्नुपर्छ । कुनै पनि व्यक्तिले परिचालक अनुमति पत्र प्राप्त नगरी सार्वजनिक यातायात काम गर्न नपाउने ऐनमा व्यवस्था गरिएको छ । 

परिचालक अनुमति पत्र नभएका कुनै पनि व्यक्तिलाई सवारी धनी तथा व्यवस्थापकले काममा लगाउन हुँदैन । परिचालक हुन साधारण लेखपढ, निरोगीताको प्रमाणपत्र र १८ वर्ष पुगेको हुनुपर्छ ।

परिचालक अनुमति पत्र लिन ९१० दफा ७१ बमोजिम परिचालक अनुमतिपत्रको लागि निवेदन परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक छानबिन गरी निवेदनका साथ संलग्न व्यहोरा साँचो देखिएमा निवेदकलाई अनुसूची ( ६ ) बमोजिमको ढाँचामा परिचालक अनुमतिपत्र दिनु पर्नेछ। 

यसरी परिचालक अनुमतिपत्र प्राप्त व्यक्तिले आफू  कार्यरत यातायात सेवामा संलग्न सार्वजनिक सवारीलाई सुव्यवस्थित ढङ्गबाट परिचालन गर्ने जिम्मेवारी वहन गर्नु पर्नेछ । 

(२) उपदफा (१) बमोजिम दिइएको परिचालक अनुमतिपत्र  सो दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ।

Share News