काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै साउन १३, १४ र १५ गते पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । कांग्रेसले जनाएअनुसार साउन १४ गते देशभरका सबै पार्टी कार्यालय बन्द रहनेछन् ।
बैठकले श्रेष्ठको सम्मानमा १३ दिनसम्म पार्टीका सबै कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिन उनको गृह जिल्ला कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जनसँगै शोकसभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
७९ वर्षीय श्रेष्ठको मंगलबार ललितपुरस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
बैठकले पारित गरेको शोक प्रस्तावमा श्रेष्ठलाई लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढीकरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अग्रज नेताका रूपमा स्मरण गरिएको छ । विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठले पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै लोकतान्त्रिक आन्दोलनका क्रममा करिब छ वर्ष जेल जीवन बिताएका थिए ।
श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए ।
उनले नेपाल सरकारमा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत थिए ।
कांग्रेसले श्रेष्ठको निधनबाट पार्टीले अनुभवी, निष्ठावान् र लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गुमाएको उल्लेख गर्दै संगठन निर्माण, लोकतान्त्रिक मूल्यमान्यता र सार्वजनिक जीवनमा उनले पुर्याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने जनाएको छ ।