काठमाडौं । सुनसरीको देवानगञ्जमा हालै भएको हिंसात्मक घटना र त्यसपछि पूर्वी नेपालका जिल्लाहरूमा उत्पन्न अशान्त परिस्थितिलाई लिएर सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै साउन १० गते देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
घटनाको निष्पक्ष अध्ययन र सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । उक्त समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन चालिनुपर्ने कदमबारे सुझाव दिन निर्देशन दिइएको छ । सरकारले पीडितलाई उचित क्षतिपूर्ति दिने तथा दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा हिंसा वा मुठभेडबाट कुनै पनि समस्याको समाधान नहुने स्पष्ट पारिएको छ ।
सदियौंदेखि कायम धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै सरकारले उत्तेजक तथा भ्रामक सूचनाको पछि नलाग्न र उच्च संयमता अपनाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ-संस्था र आमसञ्चार माध्यमलाई आह्वान गरेको छ ।
