एनआरएनए आईसीसीको सल्लाहकारमा अर्जुन श्रेष्ठ मनोनीत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ आईसीसीको सल्लाहकारमा मनोनीत भएका छन् ।

एनआरएनएले श्रेष्ठलाई संस्थामा पुर्याएको योगदान र अनुभवलाई मूल्याङ्कन गर्दै सल्लाहकारको जिम्मेवारी दिएको हो ।

श्रेष्ठ एनआरएनएमा लामो समयदेखि सक्रिय छन् । उनी सन् २००९ देखि २०१३ सम्म लगातार दुई कार्यकाल केन्द्रीय सदस्य रहे । त्यसपछि सन् २०१३ देखि २०१५ सम्म युरोप संयोजक बने ।

सन् २०१५ देखि २०१७ सम्म उनले सचिवको जिम्मेवारी सम्हाले । त्यसपछि सन् २०१९ देखि २०२१ सम्म आईसीसीको उपाध्यक्षका रूपमा काम गरेका थिए ।

व्यवसायीसमेत रहेका श्रेष्ठ बेल्जियम र नेपालमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । बेल्जियममा होटल व्यवसायमा आबद्ध उनी नेपालमा औषधि उद्योग क्षेत्रमा सक्रिय छन् ।

Share News