काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल १० अर्ब ३० करोड ५३ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरी ८५.१५ प्रतिशत प्रगति गरेको जनाएको छ ।
सो अवधिमा कार्यालयले १२ अर्ब १० करोड २८ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा १ अर्ब ७९ करोड ७५ लाख ४४ हजार रुपैयाँ राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।
सङ्कलित राजस्वमा आयकर ४ अर्ब ७ करोड २५ लाख ४१ हजार रुपैयाँ, बहाल आयकर ८ करोड ८ लाख ५५ हजार रुपैयाँ, ब्याज कर ३८ करोड १३ लाख १ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर २ अर्ब ५६ करोड ८६ लाख ७५ हजार रुपैयाँ, अन्तःशुल्क ३ अर्ब १५ करोड १० लाख ४९ हजार रुपैयाँ, शिक्षा कर ८४ हजार रुपैयाँ र अन्य कर ५ करोड ८ लाख ३२ हजार रुपैयाँ छन् ।
कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८ अर्ब ९३ करोड रुपैयाँ, आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ९ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा ८.७७ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा ७.६१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा ७.२८ प्रतिशत राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताए ।
कुल ६० हजार ६७५ करदाता आबद्ध रहेको यस कार्यालयले जेनजी आन्दोलन पछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको प्रमुख उप्रेतीले बताए ।