काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-७ भालुवाङस्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान आयोगका अध्यक्ष बलभद्र बास्तोलाले लाभग्राहीलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् ।
लालपूर्जा वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले सबै पक्षबाट आवश्यक सहयोग प्राप्त भए वर्तमान कार्यकालभित्रै सबै भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसक्ने लक्ष्य रहेको बताए । उनले ५०० दिनभित्र लालपूर्जा वितरण सम्पन्न गर्ने योजना रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय तह, जिल्ला भूमि समस्या समाधान समिति तथा निवेदकहरूको सहकार्य आवश्यक पर्ने बताए। उनका अनुसार सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने चितवन दोस्रो जिल्ला बनेको छ ।
कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय तहसँग समन्वय गरेर प्रक्रिया पूरा भएका लाभग्राहीलाई तत्काल लालपूर्जा वितरण गरिने र अपुग प्रक्रिया भएकाको काम पनि छिट्टै पूरा गरिने जानकारी दिए। उनका अनुसार जिल्लाका सबै पालिकामा नाप-नक्सा, दर्ता र प्रमाणीकरणलगायतका कार्य भइरहेको छ । चितवनमा हालसम्म ४२ हजार जनाबाट लालपूर्जाका लागि निवेदन परेको उनले बताए ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार शुक्रबार लालपूर्जा प्राप्त गर्ने ३४ परिवारमध्ये चार परिवार भूमिहीन दलित र ३० परिवार भूमिहीन सुकुम्बासी रहेका छन्। सोही बस्तीका थप ३८ परिवारको लालपूर्जा तयारी अवस्थामा रहे पनि जग्गाधनीहरू फोटो टाँस्ने क्रममा बाहिर रहेकाले उनीहरू फर्किएपछि वितरण गरिने उनले बताए।
गाउँपालिकामा अझै ८० भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी तथा दुई हजार ९३० अव्यवस्थित बसोबासी परिवार रहेको गाउँपालिकाले जनाएको छ।
लालपूर्जा वितरण कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका सातवटै वडाका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।