अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला देश निकाला

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराई ।

काठमाडौं । नेपालमा पर्यटक भिसामा आएर अनैतिक गतिविधि गर्ने ४७ जना विदेशी महिला भएका छन् । 

आर्थिक वर्ष २०८२/०८३ मा  उनीहरूलाई  डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रवार पत्रकार सम्मेलन गर्दै ४७ जना विदेशी महिलालाई देश निकाला गरेको जनाएको छ ।

युगाण्डाका ३९, भियतनाम ८, थाइल्याण्ड २, बंगलादेश २, इन्डोनेशिया २ र केन्याका ४ महिलालाई देश निकाला गरिएको हो ।

अध्यागमन विभागले उनीहरूलाई अध्यागमन नीतिविरुद्ध काम गरेको भन्दै देश निकाला गरेको हो । 

उनीहरूलाई विभागले नेपाल छोडेको मितिदेखि १ देखि ३ वर्षसम्म आउन नपाउने गरेर पठाएको हो ।

परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ५७ विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिए । 

एसपी भट्टराईले भने, ‘ठमेल, दरबारमार्ग लगायतको क्षेत्रमा विदेशी महिलाहरू अनैतिक क्रियाकलाप गर्न पाइन्छ भन्ने सोच बनाएर आएको देखियो । हामीले स्थानीयको गुनासोको आधारमा विशेष अपरेशन सञ्चालन गरेर ५७ जनालाई पक्राउ गर्यौं ।’

१० जनामाथि अहिले पनि अनुसन्धान भइरहेको उनी बताउँछन्।

भट्टराईले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी र क्रिप्टोमार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी गराए ।

उनले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाइएको बताए ।

उनका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने विचौलियाविरुद्धको अभियानमा प्रहरीले ३०९ जनालाई पक्राउ गरेको छ । तीमध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको छ ।

Share News