काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बदलिएको राजनीतिक परिवेशमा कांग्रेसले अब भाषणभन्दा बढी ऐतिहासिक निर्णय गर्ने साहस देखाउनुपर्ने बताएका छन् ।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले यस्तो बताएका हुन् ।
विगतमा एउटा प्रभावशाली भाषणले लामो समयसम्म कार्यकर्तालाई उत्साहित बनाउने अवस्था रहे पनि अहिलेको समय त्यस्तो नरहेको उनको भनाइ छ ।
‘अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन। कुनै बेला एक व्यक्तिको भाषण सुनेर महिनौं त्यसैमा रमाउने अवस्था थियो,’ उनले भने, ‘तर अहिलेको समयले नेपाली कांग्रेससँग गम्भीरतापूर्वक ऐतिहासिक निर्णय पनि गर भनेर माग गरिरहेको छ। हामीले त्यो सन्देश बुझ्नुपर्छ ।’
उनले कांग्रेसलाई समयको चुनौतीअनुसार अघि बढ्न आग्रह गर्दै पार्टीभित्र खुला छलफल, बहस र वाद–प्रतिवादलाई संस्थागत गर्नुपर्ने बताए ।
जीवन्त राजनीतिक दलमा फरक विचार स्वाभाविक हुने उल्लेख गर्दै उनले बहसबाटै सही निष्कर्ष र बलियो निर्णयमा पुग्न सकिने धारणा राखे ।