बिना सूचना लगातार बैठकमा अनुपस्थित भएपछि स्वावलम्बन लघुवित्तका दुई सञ्चालक पदमुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई जना सञ्चालक पदमुक्त (पद स्वतः रिक्त) भएका छन् ।

संस्थाको सञ्चालक समितिमा संस्थापक सेयरधनी स्वावलम्बन विकास केन्द्रका तर्फबाट प्रतिनिधि सञ्चालक रहेका बेचन गिरि र सो केन्द्रसहित अन्य व्यक्तिगत संस्थापकहरूका तर्फबाट प्रतिनिधि सञ्चालक रहेका गोकुल प्याकुरेल सञ्चालक पदबाट हटेका हुन् ।

साउन ६ गते बिहान बसेको सञ्चालक समितिको ४८८ औँ बैठकले उनीहरूको सञ्चालक पद स्वतः रिक्त भएको निर्णय गरेको हो ।

संस्थाका अनुसार दुवै सञ्चालकहरू मनासिब कारण र पूर्व सूचना बिना नै लगातार ३ पटकभन्दा बढी सञ्चालक समितिको बैठकमा अनुपस्थित रहेका थिए ।

नेपाल राष्ट्र बैंकद्वारा 'घ' वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नम्बर ६ को बुँदा नम्बर १ को उपबुँदा (११) मा सञ्चालकहरू बिना सूचना लगातार तीन पटकभन्दा बढी बैठकमा अनुपस्थित रहेमा पद स्वतः रिक्त हुने व्यवस्था छ ।

सोही व्यवस्थाका आधारमा उनीहरूलाई पदमुक्त गरी राष्ट्र बैंक लगायतका नियामक निकायहरूलाई जानकारी गराउने निर्णय गरिएको स्वावलम्बन लघुवित्तले जनाएको छ । 

Share News