एसएमएल महिन्द्राको ‘हिरोई बीएस६’ स्कुल बस नेपालमा सार्वजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गर्दै ‘हिरोई बीएस६’ स्कुल बस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकको सहभागितामा आयोजित कार्यक्रममा एसएमएल महिन्द्रा लिमिटेडका नेपालका लागि कन्ट्री म्यानेजर सुमन नागपाल र लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले संयुक्त रूपमा नयाँ बसको शुभारम्भ गरेका हुन् ।

कम्पनीका अनुसार नेपालको विद्यालय यातायातलाई सुरक्षित, आधुनिक र भरपर्दो बनाउने उद्देश्यले ‘हिरोई बीएस६’ स्कुल बस बजारमा ल्याइएको हो । नेपाल सरकारको विद्यालय बससम्बन्धी मापदण्डअनुसार यो बस ३६ देखि ५६ सिट क्षमताका विभिन्न भेरियन्टमा उपलब्ध हुनेछ । विद्यालयको आवश्यकता र सञ्चालन प्रकृतिअनुसार उपयुक्त मोडल छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ बस बीएस६ फेज–२ (ओबीडी–२) उत्सर्जन मापदण्डअनुरूप निर्माण गरिएको छ । यसमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर र इकोनोमी ड्राइभिङ मोडजस्ता आधुनिक प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ । यी प्रविधिले सुरक्षा, इन्धन दक्षता र सञ्चालन कार्यक्षमता बढाउने कम्पनीको भनाइ छ ।

बसमा फराकिलो तथा आरामदायी सिट, उत्कृष्ट सस्पेन्सन प्रणाली, कम सञ्चालन तथा मर्मत खर्च, उच्च इन्धन दक्षता र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीको दैनिक यात्रालाई सुरक्षित, सहज र आरामदायी बनाउने उद्देश्यले डिजाइन गरिएको यो बस विद्यालय यातायातका लागि उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ ।

कार्यक्रममा कम्पनीले ग्राहक तथा व्यावसायिक साझेदारसँग बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता, प्राविधिक सहयोग तथा आगामी योजनाबारे अन्तरक्रिया गरेको थियो । सहभागीहरूले कम्पनीको सेवा र नयाँ उत्पादनप्रति सकारात्मक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ ।

लक्ष्मी कमर्सियल भेहिकल्सले गुणस्तरीय उत्पादन, विश्वसनीय बिक्रीपछिको सेवा तथा नवीन व्यावसायिक यातायात समाधानमार्फत नेपाली ग्राहकको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News