कोशी, कर्णाली र सुदूरपश्चिममा सहज वाम गठबन्धन, चार प्रदेशमा अरूकै भर

प्रदेश सरकार नयाँ मोडमा, तर सबै प्रदेशमा सहज छैन वाम गठबन्धन

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ।

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच बढ्दो राजनीतिक दूरीले प्रदेश सरकारहरूको भविष्य अनिश्चित बनेको छ । 

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सहकार्य अन्त्य गर्ने घोषणा गरेसँगै नयाँ सत्ता समीकरणबारे बहस तीव्र बनेको छ । यही बहसको केन्द्रमा अहिले एउटा प्रश्न छ, के प्रदेशहरूमा फेरि वामपन्थी सहकार्य सम्भव छ ?

पहिलो नजरमा यसको उत्तर सकारात्मक देखिए पनि प्रदेशगत अंकगणित, नेतृत्वको दाबी, साना दलहरूको भूमिका र केन्द्रको राजनीतिक निर्णयलाई हेर्दा वाम गठबन्धन सबै प्रदेशमा समान रूपमा सहज देखिँदैन । कतै स्पष्ट बहुमत पुग्ने अवस्था छ भने कतै सरकार गठनका लागि क्षेत्रीय वा साना दलको समर्थन अपरिहार्य देखिन्छ ।

राजनीतिक विश्लेषक तथा वाम बुद्धिजीवी नीलकण्ठ तिवारीका अनुसार अहिलेको बहस केवल वाम गठबन्धन बन्छ कि बन्दैन भन्नेमा सीमित छैन । मुख्य प्रश्न बने पनि त्यो कति टिकाउ र प्रभावकारी हुन्छ भन्ने हो ।

संविधानले प्रदेश सरकारलाई स्वायत्त अधिकार दिए पनि व्यवहारमा प्रदेश सरकारहरूको आयु र स्वरूप प्रायः पार्टीका केन्द्रको निर्णयले निर्धारण गर्दै आएको छ । २०७९ यताका राजनीतिक घटनाक्रमले पनि केन्द्रको निर्णयले प्रदेश सरकारहरू फेरिने परिपाटी स्थापित भएको देखाएको छ ।

यसपटक पनि कांग्रेस एमाले सम्बन्ध चिसिँदै जाँदा प्रदेश सरकारहरू नयाँ समीकरणको खोजीमा छन् । एमालेका लागि कांग्रेसको विकल्प स्वाभाविक रूपमा नेपाली कम्युनिष्ट पार्टी लगायतका वाम दलहरू हुन् । तर विगतका अनुभवले वाम सहकार्य घोषणा गर्न जति सहज हुन्छ, त्यसलाई लामो समय टिकाइराख्न त्यति नै कठिन हुने देखाएकाले निर्णय पहिले विचार गर्नुपर्ने तिवारी बताउँछन् ।

कोशीमा सम्भावना बलियो

कोशी प्रदेशमा एमाले ४० सिटसहित सबैभन्दा ठूलो दल हो । प्रदेशसभाको प्रभावकारी सदस्य संख्या ९२ रहेकाले सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

नेकपाका १७ सांसदको समर्थन पाए एमाले नेतृत्वमा सहजै सरकार गठन हुन सक्छ । अंकगणितका हिसाबले वाम सहकार्य सम्भव देखिए पनि सरकार गठनपछि त्यसलाई स्थिर राख्नु भने मुख्य चुनौती हुनेछ ।

मधेशमा निर्णायक शक्ति मधेशकेन्द्रित दल

मधेश प्रदेशको राजनीतिक समीकरण अन्य प्रदेशभन्दा फरक छ । यहाँ सत्ता निर्माणको केन्द्र वाम दलभन्दा बढी जसपा, जनमतलगायत मधेश केन्द्रित दलहरू हुन् ।

हाल १०३ सदस्यीय प्रदेशसभामा जसपाका २८, एमालेका २४ र नेकपाका १५ सांसद छन् । सरकार गठनका लागि ५२ सांसद आवश्यक पर्छ । यस प्रदेशमा एमाले र नेकपा मिल्दा पनि बहुमत पुग्दैन । त्यसैले मधेशमा वाम सहकार्यको सफलता उनीहरूको आफ्नै शक्ति होइन, क्षेत्रीय दलहरूसँगको सहकार्यमा निर्भर रहने देखिन्छ । 

तर जसपाका अध्यक्ष उपेन्द्र यादव पुराना वाम नेता भएकाले उनी वाम गठबन्धनको विपक्षमा नरहने यादव नजिकका नेता सन्जयकुमार यादवले बताए । ‘मधेश प्रदेश सभा सदस्य समेत रहेका यादव मधेशमा जसपाको नेतृत्वमा सरकार गठन गर्ने सर्तमा अध्यक्षले अन्यत्र वाम गठबन्धनलाई सहयोग गर्न सक्नुहुन्छ,’ उनले भने । 

बागमतीलाई अंकगणितले साथ दिँदैन

बागमती प्रदेशमा एमाले र नेकपाको संयुक्त शक्ति उल्लेखनीय भए पनि सरकार गठनका लागि पर्याप्त छैन । १०४ सदस्यीय प्रदेशसभामा एमालेका २५ र नेकपाका २६ सांसद छन् । दुवै दल मिल्दा ५१ सिट पुग्छ, जबकि बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ । यसकारण वाम गठबन्धनले सरकार बनाउन नेपाल मजदुर किसान पार्टीका तीन सांसद वा अन्य साना दलको समर्थन अनिवार्य देखिन्छ । नेतृत्व बाँडफाँट र विगतका अविश्वास पनि यहाँ थप चुनौती बन्न सक्छन् ।

गण्डकीमा स्वतन्त्र सांसद किङमेकर 

गण्डकी प्रदेशको राजनीति पटक–पटकको सत्ता परिवर्तनका कारण अस्थिर रहँदै आएको छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २२ र नेकपाका ८ सांसद छन् । दुवै मिल्दा ३० सिट पुग्छ, जबकि सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।

यस अवस्थामा स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन निर्णायक बन्न सक्छ । त्यसैले गण्डकीमा अंकगणितभन्दा राजनीतिक वार्ता बढी महत्त्वपूर्ण हुने देखिएको नेकपा गण्डकीका एक नेताले बताए । 

लुम्बिनीमा जसपाको भूमिका निर्णायक

लुम्बिनी प्रदेशमा एमाले बलियो दल भए पनि एक्लै सरकार बनाउन सक्ने अवस्थामा छैन । ८३ सदस्यीय प्रदेशसभामा एमालेका २९, नेकपाका ११ र जसपाका ५ सांसद छन् । 

सरकार गठनका लागि ४२ सांसद आवश्यक पर्छ । एमाले र नेकपा मिल्दा ४० सिट मात्रै पुग्ने भएकाले जसपाको समर्थन निर्णायक हुने देखिन्छ । जसपा मधेशका नेता यादवले एमाले र नेकपाले मधेशमा जसपाको नेतृत्व स्विकार गरे आफ्नो दल अन्यत्र वाम गठबन्धनलाई समर्थन गर्ने जानकारी दिए ।

कर्णालीमा वाम सहकार्यका लागि सबैभन्दा सहज

प्रदेश कर्णाली प्रदेश वाम गठबन्धनका लागि सबैभन्दा अनुकूल प्रदेश मानिन्छ । यहाँ नेकपाका १४ र एमालेका १० सांसद छन् । दुवै दल मिल्दा सहज बहुमत पुग्ने अवस्था छ । त्यसैले वाम दलहरूले प्रदेशबाट सहकार्य सुरु गर्ने निर्णय गरे पहिलो प्रयोग कर्णालीबाट हुन सक्ने आँकलन राजनीतिक वृत्तमा छ ।

नेकपा एमालेका कर्णाली प्रदेश सभा सदस्य कल वहादुर हमालका अनुसार अहिलेसम्म एमाले नेकपाको सहकार्यबारे कर्णालीमा कुनै छलफल भएको छैन । तर त्यस्तो भए यहाँ सहजरूपमा सरकार बनाउन सकिन्छ ।

सुदूरपश्चिलाई अंकगणितको साथ

सुदूरपश्चिममा पनि वाम सहकार्य अपेक्षाकृत सहज देखिन्छ । यहाँ नेकपाका २२ र एमालेका ११ सांसद छन् । संयुक्त रूपमा उनीहरूले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने अवस्था रहेको छ । त्यसैले सत्ता परिवर्तनको सम्भावना सबैभन्दा बढी चर्चा भएको प्रदेशमध्ये सुदूरपश्चिम पनि एक हो । 

अंकगणित नभई विश्वासको संकट

राजनीतिक विश्लेषक लोककृष्ण भट्टराईका अनुसार वाम दलहरूबीचको सबैभन्दा ठूलो चुनौती सिट संख्या होइन, विश्वासको संकट हो ।

उनका अनुसार एमाले र नेकपाले विगतमा पटक–पटक सहकार्य गरे पनि ती गठबन्धन दीर्घकालीन बन्न सकेनन् । त्यसैले अहिले बन्ने सम्भावित सहकार्य वैचारिकभन्दा बढी परिस्थितिजन्य हुने सम्भावना छ ।

भट्टराईका अनुसार प्रत्येक प्रदेशमा मुख्यमन्त्री कसले पाउने, मन्त्रालय कसरी बाँड्ने र सत्ता सञ्चालनको मोडालिटी कस्तो हुने भन्ने विषयले गठबन्धनको भविष्य निर्धारण गर्नेछ ।

उनी भन्छन्, ‘प्रदेश सरकारहरू संविधानतः स्वतन्त्र भए पनि व्यवहारमा केन्द्रको राजनीतिक निर्णयसँग जोडिएका छन् । यदि एमाले र नेकपा सहकार्य औपचारिक रूपमा अघि बढ्यो भने त्यसको प्रभाव केही दिनभित्रै प्रदेश सरकारहरूमा देखिन सक्छ । तर सहमति जुट्न नसके सत्ता परिवर्तनको प्रक्रिया लम्बिन पनि सक्छ ।’

भट्टराईले नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशसभामा विपक्षीविहीन अवस्था बनाउने पक्षमा आफू नरहेको अभिव्यक्ति दिएकाले पनि तत्कालै सबै प्रदेशमा एउटै किसिमको सत्ता समीकरण बन्ने निष्कर्ष निकाल्न हतार हुने बताए ।

सम्भावना बलियो तर सफलता अनिश्चित

नेकपाका नेता देव गुरुङ प्रदेश सरकारहरूमा वाम सहकार्यको सम्भावना केही साताअघिको तुलनामा उल्लेख्य रूपमा बढेको बताउँछन् । तर उनका अनुसार सम्भावना हुनु र सफल कार्यान्वयन हुनु फरक विषय हो ।

राजनीतिक विश्लेषणले पनि त्यही संकेत गर्छ । कोशी, कर्णाली र सुदूरपश्चिममा वाम सहकार्य अपेक्षाकृत सहज देखिए पनि मधेश, बागमती, गण्डकी र लुम्बिनीमा अंकगणित, नेतृत्वको प्रतिस्पर्धा र साना दलहरूको भूमिकाले अन्तिम परिणाम निर्धारण गर्नेछ ।

नेपालको पछिल्लो राजनीतिक इतिहासले सरकार गठनभन्दा सरकार जोगाउन कठिन हुने तथ्य बारम्बार पुष्टि गरिसकेको छ । त्यसैले केन्द्रमा हुने आगामी राजनीतिक निर्णयले सातै प्रदेशको सत्ता समीकरण एकैपटक फेरिन सक्ने सम्भावना अझै कायम छ ।

Share News