काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक प्रोटोन इमास-५ सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
औपचारिक लन्च हुन दुई दिनअघि कम्पनीले प्रि-लन्च टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरी गाडीका विशेषताहरू सार्वजनिक गरेको हो ।
नेपालकै पहिलो रियर ह्विल ड्राइभ ह्याचब्याक प्रोटोन इमास-५ को सबैभन्दा आकर्षक पक्ष यसको रियर ह्विल ड्राइभ प्रणाली रहेको जगदम्बा मोटर्सका बिजनेस हेड सुशील क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक ह्याचब्याकहरूमध्ये यो पहिलो रियर ह्विल ड्राइभ गाडी हो ।

उक्त प्रणालीले गर्दा उकालो सडकमा गाडीको पकड बलियो हुने र मोड्दा गाडी निकै स्थिर रहने टेस्ट ड्राइभरहरूको अनुभव छ । इमास- ५ दुईवटा ब्याट्री र मोटर भेरियन्टमा उपलब्ध हुनेछ । यसमा ५८ किलोवाट र ८५ किलोवाटको मोटर पावर दिइएको छ ।
एक पटकको फुल चार्जमा यसले २२५ कि.मि. देखि ३२० कि.मि. सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । १७५ मिमीको ग्राउन्ड क्लियरेन्स र हिल असिस्ट फिचरले गर्दा यो गाडी नेपालका विभिन्न भौगोलिक अवस्थाका लागि उपयुक्त देखिएको छ ।
गाडीमा ३६० डिग्री क्यामेरा, हाइड्रोलिक फ्रंक, र इन्टेलिजेन्ट इन्टेरियर फिचर्सहरू रहेका छन् । गाडी बाहिरबाट कम्प्याक्ट देखिए पनि भित्र निकै स्पेसियस अर्थात् खुल्ला रहेको र सिटमुनि सामान राख्ने छुट्टै ड्रअरहरू समेत रहेको छ ।
फास्ट चार्जरको प्रयोगबाट मात्र ३० मिनेटमा गाडी ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । स्वदेशी जलविद्युत्को उपयोग गरी चल्ने यो गाडी डिजेल र पेट्रोल गाडीको तुलनामा निकै सस्तो पर्ने सितल घिमिरेले बताए । उनका अनुसार मात्र ५०० रुपैयाँ बराबरको विद्युत् खर्चमा काठमाडौंबाट पोखरासम्मको यात्रा गर्न सकिन्छ ।
उनले यो गाडी टेष्ट ड्राइभ गरेका थिए । त्यसैगरी अभिनेत्री तथा निर्माता केकी अधिकारीले सुटिङका सामग्रीहरू बोक्न र सहरको ट्राफिकमा चलाउन यो गाडी निकै सहज र आरामदायक रहेको प्रतिक्रिया दिइन् ।

देशभर बलियो सेवा सञ्जाल जगदम्बा मोटर्सले प्रोटोनका लागि काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज लगायत देशभर १२ वटा शोरुमहरू सञ्चालन गरिरहेको छ ।
ग्राहकको सहजताका लागि कम्पनीले देशका विभिन्न ३५ स्थानमा थप चार्जिङ स्टेशनहरू विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
प्रोटोन इमास- ५ आगामी दुई दिनभित्र औपचारिक रूपमा लन्च हुनेछ । लन्चको दिन नै यसको आधिकारिक मूल्य सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
उत्कृष्ट पर्फमेन्स, आधुनिक डिजाइन र किफायती सञ्चालन खर्चका कारण इमास- ५ ले नेपाली विद्युतीय गाडीको बजारमा नयाँ मानक कायम गर्ने अपेक्षा गरिएको छ ।
