यात्रुलाई सास्ती दिने गाडीलाई कारबाही हुने

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात क्षेत्रमा बढ्दै गएका विकृति र जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बुधबार (आज) सूचना जारी गर्दै यस्ता कार्य तत्काल सुधार नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । काठमाडौं उपत्यका लगायत देशभर सञ्चालित सार्वजनिक सवारी साधनहरूले यात्रुहरूलाई विभिन्न बहानामा सास्ती दिने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघका अनुसार यात्रुलाई गन्तव्य स्थानसम्म नपु¥याउने, बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, र बस पकेटभन्दा बाहिर जथाभावी यात्रु चढाउने तथा ओराल्ने जस्ता समस्याहरू व्यापक रूपमा देखिएका छन् । 

यसका साथै यात्रु तानातान गर्ने, सिट सरसफाइ नगर्ने, डस्टबिनको व्यवस्था नगर्ने, राजमार्गमा गुणस्तरीय खाना खुवाने ठाउँ निश्चित नगरी जथाभावी खाना खुवाउने, तीव्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियम पालना नगर्ने, र सवारी साधनसँग सम्बन्धित कागजात दुरुस्त नराख्ने जस्ता जनगुनासोहरू बढेका छन् । 

यी र यस्ता क्रियाकलापहरूले गर्दा अर्बौंको लगानी भएको र राज्यलाई अग्रिम राजस्व बुझाउँदै आएको यातायात क्षेत्रलाई आम सरोकारवालाहरूले अपहेलित र अमर्यादित पेसाको रूपमा लिन थालेको महासंघले जनाएको छ । 

यातायात क्षेत्रलाई बदनाम गराउने प्रयास भइरहेको भन्दै महासंघले कहीँ कतै कसैले यस्ता कार्य गरेको भए तत्काल सुधार गरी आधुनिक प्रविधिमैत्री सेवा सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई सचेत गराएको सूचनामा उल्लेख छ । 

यो सूचनालाई बेवास्ता गरी सवारी साधन, व्यवसायी, वा मजदुरहरूले यस्ता गलत कार्य जारी राखेको पाइएमा सम्बन्धित निकायबाट कारबाही गरिने बेहोरासमेत महासंघले स्पष्ट पारेको छ ।

null

Share News