५० बुँदे एजेन्डासहित इप्पानको भिजन-२०२९ सार्वजनिक, उद्योगलाई सस्तोमा बिजुली

आगामी माघमा हिमालय हाइड्रो एक्स्पो गर्ने निर्णय

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत, कानुनी, वित्तीय तथा संरचनागत समस्या समाधानका लागि ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेको छ ।

इप्पानका नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा शुक्रबार र शनिबार धुलिखेलमा बसेको दोस्रो कार्यसमिति बैठकले उक्त कार्ययोजना पारित गर्दै निजी ऊर्जा क्षेत्रको लगानी संरक्षण, विद्युत उत्पादन विस्तार तथा नीतिगत सुधारलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको हो । 

इप्पानले नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर रोकिएका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए तत्काल खुलाउन सरकारसँग पहल गर्ने जनाएको छ । 

साथै स्टोरेज तथा पम्प स्टोरेज आयोजनाका लागि छुट्टै पीपीए दर निर्धारण, मूल्यवृद्धिअनुसार पीपीए दर पुनरावलोकन, प्रसारण लाइन ढिलाइ हुँदा लगानीकर्तालाई क्षतिपूर्तिको व्यवस्था तथा निजी आयोजनाको ग्रिड जडान प्रक्रिया सरल बनाउन पहल गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

कार्ययोजनामा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिने नीतिगत व्यवस्था, वन क्षेत्रको जग्गा प्राप्ति र रुख कटान प्रक्रिया एक वर्षभित्र टुंग्याउने, विद्युत व्यापारलाई सहज बनाउने, ऊर्जा क्षेत्रका लागि विशेष कोष स्थापना गर्ने, ९ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउने, हरित वित्त र ग्रीन बन्डमार्फत लगानी विस्तार गर्ने लगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी उद्योगलाई सस्तो विद्युत उपलब्ध गराई ‘मेड इन नेपाल’ उत्पादनलाई प्रतिस्पर्धी बनाउने, विद्युतीय सवारी र विद्युतीय खाना पकाउने प्रवर्द्धन गर्ने, ब्याट्री स्टोरेज र हरित हाइड्रोजनमा लगानी बढाउने तथा कार्बन व्यापारलाई प्रोत्साहन गर्ने योजना पनि इप्पानले अघि सारेको छ ।

बैठकले ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा प्रभावकारी समन्वय र नीतिगत पैरवीका लागि १६ वटा समिति तथा उपसमिति गठन गरेको छ । साथै गणेश कार्कीको नेतृत्वमा ११ सदस्यीय सल्लाहकार समिति र दिनेशकुमार घिमिरेको नेतृत्वमा ९ सदस्यीय विज्ञ सल्लाहकार समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच, इप्पानले आफ्नो प्रमुख कार्यक्रम ‘हिमालय हाइड्रो एक्स्पो’को पाँचौं सँस्करण आगामी २०८३ माघ २, ३ र ४ गते (१६-१८ जनवरी २०२७) काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय गरेको जनाएको छ ।

Share News