चार पटकको विजेता जर्मनी बाहिरिँदा अन्तिम १६ मा को-को भिड्दै छन् ?

पहिलो खेल क्यानडा र मोरक्कोबीच हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल (राउन्ड अफ ३२) का सबै खेल सम्पन्न भएसँगै अन्तिम १६ टोलीको टुङ्गो लागेको छ । शनिबार (आज) देखि प्रत्येक खेल जित वा घर फर्किने अवस्थाको हुने भएकाले उपाधि दौड थप रोमाञ्चक बनेको छ ।

राउन्ड अफ ३२ मा केही ठूला उलटफेर देखिए । चार पटकको विश्वविजेता जर्मनी पाराग्वेसँग टाइब्रेकरमा स्तब्ध बन्यो भने गत संस्करणमा तेस्रो भएको क्रोएसिया पोर्चुगलसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

दाबेदार नेदरल्यान्ड्स मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदा एसियाली शक्ति जापान ब्राजिलसँग तथा अफ्रिकाको बलियो टोली सेनेगल बेल्जियमसँग हार्दै बाहिरिए ।

यता साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, ब्राजिल, स्पेन, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल, मोरक्कोलगायतका उपाधि दाबेदार टोलीले भने अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । 

सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै घरेलु समर्थकमाझ ऐतिहासिक सफलता हासिल गर्यो । ब्राजिलले जापानलाई हराउँदा नर्वेले आइभरी कोस्टलाई तथा फ्रान्सले स्वीडेनलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे । 

यस्तै मेक्सिकोले इक्वेडरलाई, इंग्ल्यान्डले कङ्गोलाई, बेल्जियमले सेनेगललाई र अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गरे ।

स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्दा स्विट्जरल्यान्डले अल्जेरियालाई हरायो । इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्दा अर्जेन्टिनाले केप भर्डेलाई र कोलम्बियाले घानालाई हराउँदै अन्तिम १६ मा स्थान बनाए । 

अब क्वाटरफाइनल प्रवेशका लागि हुने प्रतिस्पर्धामा आकर्षक भिडन्तहरू तय भएका छन् । पहिलो खेलमा शनिबार राति पौने ११ बजे क्यानडा र मोरक्को आमनेसामने हुनेछन् । त्यसपछि आइतबार बिहान पौने ३ बजे पाराग्वेले फ्रान्सको चुनौती सामना गर्नेछ । 

सोमबार बिहान पौने २ बजे ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड भिड्नेछन् । 

मंगलबार बिहान पौने १ बजे दुई युरोपेली शक्ति पोर्चुगल र स्पेनबीच बहुप्रतीक्षित खेल हुनेछ । त्यही दिन अमेरिका र बेल्जियम पनि क्वाटरफाइनल यात्राका लागि प्रतिस्पर्धामा उत्रिनेछन् । 

मंगलबार राति पौने १० बजे साविक विजेता अर्जेन्टिना र इजिप्ट आमनेसामने हुनेछन् भने अन्तिम प्रि-क्वाटरफाइनल खेल बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुनेछ । 
 

Share News