ईश्वरी भुजेल हत्या प्रकरण : नेपाली ब्राे र उनकी प्रेमिका पुर्पक्षका लागि थुनामा

काठमाडाैं । जिल्ला अदालत काठमाडौंले नेपाली सेनाकी जमदार ईश्वरी भुजेल हत्या प्रकरणका मुख्य अभियुक्त उनका पति कुमार थापा मगर (नेपाली ब्रो) र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार थुनछेक आदेश गर्दै कुमारका भाइ विक्रम थापा मगर र उनका साथी सुजन थापालाई भने जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।

प्रहरी अनुसन्धानअनुसार सम्बन्धविच्छेदको विवाद र प्रतीक्षा आचार्यसँगको प्रेम सम्बन्धका कारण कुमारले २०८३ जेठ २२ गते ईश्वरीको चक्कु प्रहार गरी हत्या गरेका थिए । घटनाअघि ईश्वरीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् भने मेलमिलापको प्रयास असफल भएको थियो ।

अभियोगपत्रमा कुमारविरुद्ध कर्तव्य ज्यान कसुरमा जन्मकैदको माग गरिएको छ । विक्रम, प्रतीक्षा र सुजनविरुद्ध भने दुरुत्साहन गरेको आरोपमा कानुनबमोजिम सजाय माग गरिएको छ ।

Share News