रास्वपाको महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा

महामन्त्रीमा १० जना भिड्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले उपसभापति, महामन्त्री तथा सह–महामन्त्री पदका उम्मेदवारहरूको प्रारम्भिक सूची शुक्रबार सार्वजनिक गरेको हो ।

पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भइसकेपछि अब पार्टीको शीर्ष नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढेको हो । उम्मेदवारी दाबी, छानबिन र फिर्ताको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशित गरी मतदान गराइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया पार्टीको विधान र निर्धारित कार्यतालिकाअनुसार अगाडि बढाइएको छ । उनले उम्मेदवारमाथिको दाबी–विरोध टुंग्याएर अन्तिम सूची सार्वजनिक गरेपछि मतदान सुरु हुने जानकारी दिए ।

महिलातर्फको उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यसअघि उक्त पदमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

सबैभन्दा धेरै प्रतिस्पर्धा भने महामन्त्री पदमा देखिएको छ । एक पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य गरी १० जनाले उम्मेदवारी दिएका छन् । महामन्त्री पदका उम्मेदवार खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेपनि आयोगको लिस्टबाट उनको नाम हटिसकेको छैन ।

खुला सह–महामन्त्रीका दुई पदका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त प्रतिस्पर्धामा छन् ।

यस्तै, महिलातर्फको सह–महामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

यसअघि पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । सभापति पदमा रवि लामिछाने पनि निर्विरोध चयन भइसकेकाले अब महाधिवेशनको ध्यान बाँकी पदाधिकारी चयनतर्फ केन्द्रित भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता, छानबिन तथा दाबी–विरोधसम्बन्धी प्रक्रिया सम्पन्न गरेपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गर्दै बन्दसत्रमा मतदान गराउने तयारी गरेको जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट रास्वपाले आफ्नो नयाँ केन्द्रीय पदाधिकारी टोलीलाई पूर्णता दिनेछ ।

Share News