काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रक्रिया तीव्र रूपमा अघि बढेको छ । महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्य चयनका लागि भएको मतदान कार्य सम्पन्न भएको छ ।
केन्द्रीय सदस्यको मतदान सकिएसँगै अब आजै पार्टीका प्रमुख पदाधिकारीहरू चयनका लागि मतदानको तयारी गरिएको छ ।
रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारी चयनका लागि आज अपराह्न ४ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय गरिएको छ ।
रास्वपाको पदाधिकारी तहमा निर्वाचित हुने ६ वटा पदका लागि पार्टीभित्र तीव्र प्रतिस्पर्धा देखिएको छ । ६ पदका लागि ५० जनाभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन् ।
यसअघि पार्टीको सभापतिमा रवि लामिछाने गत मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह फेरि पनि रास्वपाको वरिष्ठ नेता बन्ने पक्का भएको छ ।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहकै समूहबाट केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि दाबेदार देखिएका नेताहरूलाई सभापति रवि लामिछानेले केन्द्रीय समितिमा मनोनयन गर्ने सहमति भएको छ ।
यसरी मनोनीत हुने नेताहरूमा भूपदेव शाह, सुनिल लम्साल र गृहमन्त्री सुदन गुरुङलगायत रहेका छन् ।