रास्वपा महाधिवेशन : ९ घण्टामा २३ सय मत खस्यो, मतदान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ । बुधबार निर्धारित समयमै मतदान हुन नसकेपछि मध्यरातपछि सुरु भएको मतदानमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ ।

निर्वाचन व्यवस्थापनमा संलग्न राम–लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालका अनुसार बिहीबार बिहान ९ बजेसम्म करिब २३ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदानको गति हेर्दा दिउँसो १२ बजेसम्म ३ हजारभन्दा बढी मत खस्ने अनुमान गरिएको उनले बताए ।

केन्द्रीय निर्वाचन आयोगले पहिलो चरणको मतदानका लागि बिहीबार दिउँसो १२ बजेसम्मको समय तोकेको छ । यद्यपि महाधिवेशन प्रतिनिधिको संख्या ४१ सयभन्दा बढी रहे पनि मतदानमा भएको लामो ढिलाइका कारण केही प्रतिनिधि घर फर्किसकेको जनाइएको छ ।

रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये खुलातर्फ २१० र भूगोलतर्फ १७४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशगत कोटाअनुसार सातै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । 

पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन गरिनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिने व्यवस्था छ ।

पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा आठ पदाधिकारी चयनका लागि मतदान हुनेछ। सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली टुंगो नलाग्दा प्रक्रिया पटक–पटक प्रभावित भएको थियो । निर्धारित समयभन्दा झन्डै १६ घण्टा ढिला गरी मतदान सुरु भएपछि महाधिवेशन स्थलमा प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए ।

मतदान अनिश्चित बन्दै जाँदा केही प्रतिनिधिले बहिष्कारको चेतावनीसमेत दिएका थिए । त्यसक्रममा महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

हाल भने मतदान प्रक्रिया नियमित रूपमा अघि बढिरहेको छ । महाधिवेशन प्रतिनिधिहरू लामबद्ध भएर मतदान केन्द्रमा पुगिरहेका छन् भने निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि छिट्टै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । 

Share News