महिलाको अश्लील तस्बिर तथा भिडियो पोस्ट गर्ने तिमिल्सिना पक्राउ

महिलाको अश्लील तस्बिर तथा भिडियो पोस्ट गर्ने तिमिल्सिना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ त्रिभुवन पार्क बस्ने १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना रहेका छन् ।

ब्यूरोका अनुसार पीडित महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल डिस्कोर्ड र टेलिग्राममा समेतमा पोस्ट गरिएको थियो । 

आफ्नो चरित्र हत्या हुने गरी सामग्रीहरू पोस्ट भएपछि पीडित महिलाले कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कारबाहीका लागि साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

पीडितको निवेदनका आधारमा साइबर ब्यूरोबाट खटिएको टोलीले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेको थियो । 

सोही अनुसन्धानका आधारमा तिमल्सिनाको संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनलाई असार १० गते पक्राउ गरेको हो।

पक्राउ परेका तिमल्सिनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 

थप अनुसन्धानका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

Share News