५० स्टोर पुर्याउने भाटभटेनीको लक्ष्य, ५० हजारलाई रोजगारी

बौद्धको भाटभटेनी सञ्चालनमा आएपछि स्थानीय खुसी

काठमाडौं । करिब एक वर्षअघिको कुरा हो । गत वर्ष भदौको अन्तिम साता काठमाडौं अशान्त थियो । जेन्जी आन्दोलनको रापले देशभरका व्यवसायहरू त्रसित थिए । त्यही उत्तेजित भीडको निसानामा नेपालको व्यावसायिक सफलताको पर्यायवाची बनेको भाटभटेनी सुपरमार्केट पर्यो ।

जेन्जी आन्दोलनमा बौद्ध शाखा मात्र होइन, देशभरका झन्डै २० वटा शाखाहरूमा क्षति पुग्यो । १२ वटा स्टोर त हेर्दाहेर्दै खरानीको थुप्रोमा परिणत भए । अन्ततः झन्डै १० महिनापश्चात बौद्धको भाटभटेनी पुनः सञ्चालनमा आएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले उक्त दिनको क्षति सामान्य नभएको बताउँछन् । ‘हामीले १० अर्ब ८६ करोड रुपैयाँको भौतिक क्षति बेहोर्यौं,’ उनी भन्छन्, ‘भवनमात्र होइन, भित्रका अर्बौंका सामानहरू पनि जलेर सखाप भए ।’

null

बुधबारदेखि सञ्चालनमा आएकाे बाैद्धस्थित भाटभटेनी ।

तर भाटभटेनी व्यवस्थापनले हार मानेन । विगतमा जे– भयो सबै बिर्सिएर अगाडि बढ्ने भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको दृढ इच्छाशक्तिले अहिले धमाधम स्टोरहरू पुनः सञ्चालनमा आउन थालेका छन् । 

बौद्ध शाखा पुनः सञ्चालनमा आउनु भाटभटेनीको मात्र जित नभई नेपाली व्यवसायीहरूको आत्मविश्वासको पुनः उदय पनि हो । अहिलेको नयाँ भवन पहिलेभन्दा आधुनिक, सुरक्षित र प्रविधियुक्त बनाइएको छ । 

‘क्षतिपश्चात हामीले २५ प्रतिशतसम्म थप लगानी गरेर स्टोरहरूलाई अपग्रेड गरेका छौं,’ पौडेलले भने ।

null

किनमेल गर्दै सर्वसाधारण ।

बौद्ध शाखाको पुनःनिर्माणमा मात्रै १०० करोड रुपैयाँभन्दा बढी लगानी भएको उनले जानकारी दिए । स्टोरभित्रको सामग्रीमा करिब ६० करोड रुपैयाँ र भवन पुनःनिर्माणमा थप ५०/५५ करोड रुपैयाँ खर्च भएको छ ।

उनका अनुसारस्टोरहरूमा नयाँ प्रविधि, आधुनिक प्रणाली र ग्राहकमैत्री सुविधाहरू थपिएका छन् । त्यसैले पुनःनिर्माण लागत क्षतिको मूल्यभन्दा २०/२५ प्रतिशत बढी पुगेको छ ।

कसैको रोजगारी गुमेन

भाटभटेनीले देशभर १० हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको छ । पौडेलले कम्पनीले अब विगतलाई पछाडि छाडेर अगाडि बढ्ने बाटो रोजेको बताए । 

‘हाम्रो जित भनेकै जलेका स्टोर पुनः सञ्चालनमा ल्याउनु हो । त्यही हाम्रो चेयरम्यानको निर्देशन पनि थियो,’ उनले भने, ‘राज्यलाई कर तिर्ने, रोजगारी जोगाउने र ग्राहकलाई सेवा दिने हाम्रो प्राथमिकता हो ।’

null

स्टोर जल्दा हजारौं रोजगारीहरूको भविष्यमाथि संकट मडारिँदा  पनि भाटभटेनीले आफ्ना कर्मचारीलाई एक्लो छाडेन । १८ वर्षदेखि कम्पनीमा आबद्ध रेडिमेड विभागकी इन्चार्ज पूजा निरौला त्यो दिन सम्झिँदा अहिले पनि भावुक बन्छिन् । ‘त्यो दिन सम्झिँदा अहिले पनि आँखाबाट आँसु झर्छ । धेरै नै पीडादायी थियो,’ पूजाले गला अवरुद्ध पार्दै भनिन् ।

उनीजस्ता १० हजार बढी कर्मचारीका लागि कम्पनीले अभिभावकको भूमिका निभायो । स्टोरहरू बन्द हुँदा पनि कुनै पनि कर्मचारीलाई भाटभटेनीले जागिरबाट निकालेन । अन्य शाखाहरूमा व्यवस्थापन गरेर सबैलाई रोजगारीको ग्यारेन्टी गरियो । 

null

१५ वर्षदेखि कार्यरत सुपरभाइजर सरिता व्यञ्जनकार भन्छिन्, ‘कम्पनीले हामीलाई सेवा–सुविधामा कहिल्यै तलमाथि गरेन, त्यसैले हामी झन् बढी उत्साहका साथ काममा फर्किएका छौं ।’

खुसी छन् स्थानीय

बौद्ध शाखा पुनः सञ्चालनमा आएपछि ग्राहकहरू उत्साहित देखिएका छन् । उद्घाटनकै दिन किनमेल गर्न पुगेका ग्राहकहरूले भाटभटेनी बन्द हुँदा दैनिक उपभोगका सामग्री किन्न असहज भएको अनुभव सुनाए । गोकर्णकी जमुना तामाङले भाटभटेनी बन्द हुँदा एउटै सामानका लागि धेरै पसल धाउनुपर्ने अवस्था आएको बताइन् । 

‘हामी त खुल्ने दिन कुरेर बसेका थियौं, एउटै छानामुनि सबै सामान पाइने भएकाले निकै सजिलो हुन्छ,’ उनले भनिन् । 

अन्य ग्राहकहरूले पनि भाटभटेनीमा खोजेका अधिकांश सामान सहज रूपमा उपलब्ध हुने भएकाले पुनः सञ्चालनले राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

null

नारायणटारकी मञ्जु कुमारी र बौद्धकी सुमिना तामाङको अनुभव पनि उस्तै छ । 

सामानको गुणस्तर र छनोटका लागि धेरै विकल्प पाइने हुनाले उनीहरू यो स्टोर खुल्ने पर्खाइमा थिए । नयाँ ब्राण्डका इलेक्ट्रोनिक आइटम, किचनवेयर र फेसनका सामग्रीहरूले स्टोर सजिएको छ । 

भाटभटेनीले हाल उपत्यकाका मुख्य शाखाहरू पुनः सञ्चालनमा ल्याइसकेको छ । विराटनगर, बिर्तामोड र धरानका स्टोरहरू पनि दशैं अगाडि नै खुल्ने तरखरमा छन् । भाटभटेनीको यात्रा रोकिएको छैन । अहिले २७ वटा स्टोर सञ्चालनमा छन् भने आगामी वर्ष थप ४ वटा थपिनेछन् । 

null

‘हाम्रो लक्ष्य देशको कुना–काप्चामा पुग्नु हो । पहिलो चरणमा ५० वटा स्टोर पुर्याउने र ५० हजार नेपालीलाई रोजगारी दिने हाम्रो लक्ष्य छ,’ सीओओ पौडेलले भने । 

खरानीबाट बौरिएको भाटभटेनी नेपाली कर्पोरेट क्षेत्रका लागि एउटा बलियो उदाहरण बनेको छ । 

Share News