काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एल’को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
क्यानडाको टोरन्टोमा आज बिहान भएको खेलमा अनुभवी फरवार्ड आन्ते बुडिमिरले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गरेका थिए । तर दोस्रो हाफको ५४औँ मिनेटमा मार्को पासालिचको उत्कृष्ट ब्याकहिल पासपछि जोसिप स्तानिसिचले दिएको लो क्रसलाई बुडिमिरले गोलमा परिणत गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
खेलको सुरुआती चरणमा पानामाले केही राम्रो अवसर बनाएको थियो । जोसे लुइस रोड्रिगेजको हेडर क्रसबारमा लागेर फर्किएको थियो भने अन्य केही आक्रमण पनि गोलमा परिणत हुन सकेनन् ।
इङ्ग्ल्यान्डसँग पहिलो खेलमा ४–२ ले पराजित भएको क्रोएसियाका लागि यो जित नकआउट चरणको सम्भावना जीवित राख्न अत्यन्त महत्वपूर्ण रह्यो।
अनुभवी कप्तान लुका मोड्रिकले आफ्नो अन्तर्राष्ट्रिय करियरको २००औँ खेल खेल्दै टोलीको मध्यपंक्तिलाई नेतृत्व गरेका थिए ।
यता लगातार दोस्रो हार बेहोरेको पानामा भने समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ । अब अन्तिम खेलमा उसलाई जितसहित अन्य नतिजाको समेत भर पर्नुपर्ने अवस्था बनेको छ ।
यो नतिजापछि समूह ‘एल’मा क्रोएसियाले पहिलो तीन अंक जोड्दै नकआउट यात्राको आशा कायम राखेको छ भने पानामाको स्थिति थप जटिल बनेको छ ।