काठमाडौं । नेकपा एमालेले आज संसदीय दल तथा सचिवालय बैठक बोलाएको छ । पार्टीका तर्फबाट संसद् र सरकारसँग सम्बन्धित समसामयिक राजनीतिक विषयमा छलफल गर्न दुवै बैठक आह्वान गरिएको हो ।
एमाले संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा संसद्को चालु अधिवेशन, विधेयकहरू, सरकारका कामकारबाही तथा दलका आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।
संसदीय दलको बैठक सम्पन्न भएपछि एमालेले साँझ ६ बजे सचिवालय बैठक पनि बोलाएको छ । सचिवालय बैठक पार्टी अध्यक्ष केपी ओलीको गुन्डु निवासमा बस्ने जनाइएको छ ।
सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनका गतिविधि, आगामी कार्यक्रमबारे समीक्षा र आवश्यक निर्णय हुने स्रोतले जनाएको छ ।