यी हुन् १० अर्बको मुद्दा लागेका १८ व्यक्ति र कम्पनी

१० जना कर्मचारीविरूद्द पनि भ्रष्टाचारको मुद्दा

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा दुई विदेशी कम्पनीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीने जानकारी दिइन् ।

उनका अनुसार अख्तियारले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकाे छ । 

उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति गैह्रकानुनी लाभहानी पुर्याइ भ्रष्ट्राचार गरेको ठहर छ ।

कर्मचारीहरूमा शत्रुधन शर्मा पोख्रेल,रविन्द्र राजभण्डारी, राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा र विपिन प्रसाई रहेका छन् । 

त्यसैगरी, कम्पनीहरूमा जर्मनीका भेरिडोस जीएमबीएच र म्युहलबाउर आइडी सर्भिस रहेका छन् । चार जना विदेशी नागरिक र जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन् । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाका सदस्य सुनिलबहादुर थापाका छोरा समेत  हुन् । त्यस्तै, मल्ल जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि हुन् । 

Share News